11 Jul 20

गर्भवती र सुत्केरीमा कोरोना सन्त्रास

दुर्गा अधिकारी 

विश्वमा फैलिएको रोग कोरोनाले नयाँ जीवन पाउन लागेका सन्ततीको पाइला कति रोकेको छ वा आमाको बाटो कति छेकेको छ, त्यो नयाँ अध्ययनको विषय होला तर अहिले नेपालमा पनि ज्यान लिने कोरोना संक्रमण र जन्मदिने सुत्केरी आमाको लडाई भने जारी छ ।

कोरोनाको त्रासको कारण गर्भवती महिला तथा सुत्केरी आमाहरू अलमलमा, सन्त्रासमा छन् । सन्तान कता जन्माउने ? परम्परावादी प्रसुति गराउने वा अस्पाताल जाने ? उनीहरू अलमलको अवस्थामा देखिएका छन् । सुरक्षित प्रसुतिका निम्ति समान्यतः अस्पताल वा नजिकको हेल्थ पोष्ट जाने बानी बसेका गर्भवतीहरू शल्यक्रिया गर्नुपर्ने समस्या नपरी अहिले अस्पताल जान डराएका छन् । यो डरको माहौलमा कतै उनीहरूले सुडेनीको सहयोग लिएका त छैनन् वा असुरक्षित प्रसुतिका कारण अकाल मृत्यु वरण गरिरहेका त छैनन्, त्यो पनि अध्ययनको अर्को पाटो छ ।

घरमै बसिरहेका गर्भवतीहरूले लकडाउनका कारण नियमित गर्भ परीक्षण गर्न पाएका छैनन् । लकडाउन केही खुलेपनि अस्पतालबाट नै कोरोना सरेका कतिपय घटनाले गर्दा गर्भवती महिला अस्पताल जान डराएका हुन् । सुत्केरी गराउन कसरी स्वास्थ्य संस्थामा लैजाने भन्ने समस्या एकातिर छ भने अर्कातिर अस्पतालमा कोभिड बाहेकका सेवाहरू सीमित भएका छन् । यकिन तथ्यांक त छैन, तर लकडाउन सुरु भए पछि झण्डै ७० हजार गर्भवती तथा सुत्केरीहरू स्वास्थ्य संस्थाको सम्पर्क बाहिर रहेको अनुमान छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार मासिक पाँच सयको हाराहारीमा प्रसुति सेवा दिइने अस्पतालमा अहिले यो संख्या घटेर डेढ सयको हाराहारीमा झरेको छ । विगतमा खुट्टा टेक्ने ठाउँ नहुने अस्पतालमा अहिले दिनको एक सय जना पनि मुस्किलले पुग्ने गरेको छ । आचार्य बताउनुहुन्छ, यो क्षेत्रको अत्यन्तै ठूलो र विश्वासिलो पोखरा क्षेत्रीय अस्पताललाई कोरोना हेर्ने अस्पतालको रुपमा विकास गरेपछि आम नागरिकमा एक किसिमको मनोवैज्ञानिक त्रास छाएको छ, बिरामी घटेका छन् । कोभिड १९ बाट बच्ने सुरक्षाका सामग्री हुँदाहुँदै पनि आम नागरिकमा सेवा पु¥याउन पाइएको छैन । 

धरान घर भई हाल पोखरा महानगरपालिका वडा नम्वर १७ मै बस्ने शान्तिला लिम्बु पनि यति बेला डेढ महिनाको सुत्केरी हुन् । “जीवनमा पहिलो पटक यति धेरै डर लाग्यो” उनले भनिन् । लकडाउनकै समयमा उनले छोरी जन्माएकी हुन् तर उनले चेकजाँच गर्न भने पाइनन् । गर्भवती अवस्थामा पाउनुपर्ने खोप तथा आइरन चक्की त परको कुरा सुत्केरी हुँदा पोषिलो खाना नपाएको उनले गुनासो गरिन् । अस्पतालबाटै कोरोना सर्ने हो कि भन्ने चिन्ताले उनले घरमै बच्चा जन्माएकी हुन् । बच्चा जन्माएपछि पनि अझै सरिहाल्छ कि भनेर डराएकी उनी भन्छिन्– “धन्न बाँचियो, डरले सवैसँग तर्किएर बस्नुपर्ने ।” ज्यालादारी काम गरेर गुजारा चलाउदै आएको उनको परिवारमा काम बन्द भएपछि साँझ विहान छाक टार्न गाह्रो भएको छ । नवजात शिशु र आमालाई पनि पोषिलो खाना खाने बेला हो यो तर खानका लागि चामल र दाल बाहेक कोठामा केही नभएको उनले बताइन् । 

उनी जस्तै सुत्केरी हुने अवस्थामा रहेका झण्डै ७० हजार आमाले बच्चा जन्माउन कहाँ गएका होलान् ? स्वास्थ सेवा पाउनबाट बञ्चित गर्भवती महिलाको कतै अकाल मृत्यु त भएको छैन ? पहिले लकडाउनले अस्पताल बन्द अहिले खुले पनि कोरोनाको संक्रमणको डर । यही डरले प्रसुतिको समय नजिक आए पनि अस्पताल जान सकेका छैनन धरै गर्भवती महिलाहरू ।

भोजपुर घर भएकी २७ वर्षिय मालती तामाङ्ग अहिले पोखरा महानगरपालिका वडा नम्वर १७ मा भाडामा बस्दै आएकी छन् । अहिले उनको गर्भ बसेको ७ महिना भईसकेको छ । अवस्था अझै ठीक भइसकेको छैन । त्यसैले उनी चिन्तित छिन् । जबजब गर्भवती तथा सुत्केरी महिलामा कोरोना सक्रमण पुष्टि भएका खवर सुन्छिन्, हेर्छिन झन् डरले आत्तिन्छिन् उनी । मालतीले सुत्ेकरी हुने मिति नजिकिदै गर्दा पनि विगत ३ महिनादेखि चेकजाँच गराउन पाएकी छैनन् । लकडाउनमा सवै बन्द नै थियो तर अहिले खुलेपनि अस्पतालबाटै कोरोना सर्छ कि जस्तो लागेर अस्पताल नगएको उनी बताउँछिन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने उनीहरूको परिवारलाई अहिले हातमुख जोर्न पनि गाह्रो भईरहेको छ, सुत्केरी कता गराउने ?

यसैगरी ताप्लेजुङ्ग घर भई हाल पोखरा बस्दै आएकी मनिता लिम्बु ७ महिनाकी गर्भवती हुन् । लकडाउन भएदेखि उनी अस्पताल चेकजाँच गर्न जान पाएकी छैनन् । पेटमा जुम्ल्याहा बच्चा छन् भन्ने उनलाई थाहा छ, र पनि आइरन चक्की, क्याल्सियम लगायतका पौष्टिक आहार खान पाएकी छैनन । शल्यक्रिया नगरी उनले बच्चा पाउन सक्ने अवस्था छैन तर अस्पताल कसरी जाने ?
बाग्लुङ्ग घरभई हाल पोखरा रत्नचोक बस्दै आएकी हिमा नेपाली गर्भवती हुन् । उनको ८ महिना चलिरहेको छ । अर्को महिना साउन १३ गते उनको बच्चा पाउने मिति दिइएको छ ।“सुत्केरीलाई कोरोना लाग्यो रे भन्ने सुन्ने वित्तिकै डरलाग्छ” उनले भनिन् । अहिलेको जति आत्तिएको र डराएको उनले कहिल्यै अनुभव गरेकी थिईनन् । विगत ४ महिनादेखि डरले अस्पताल चेकजाँचका लागि जान सकेकी पनि छैनन् । लकडाउन सुरु भएपछि गर्भवती तथा सुत्केरी महिलाहरूले धेरै समस्या झेल्नु परिरहेको हिमा नेपाली बताउँछिन् । अस्पताल नगए प्रसुति गराउन उनीसँग अर्को विकल्प पनि छैन । भिटामिन, क्याल्सियम र पोषिलो खानेकुरा पनि पाइएको छैन ।

यसैगरी गुल्मी बलेटक्सारकी गर्भवती महिला मीना न्यौपाने रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा भाडाको घरमा बस्दै आएकी छन् । हाल आठ महिनामा चल्दै गरेको उनको नियमित जाँच गराएको अस्पतालले दिएको प्रसुति गराउने समय आगामी साउन २३ गते रहेको छ । २६ वर्षीय मीना न्यौपाने पहिलो सन्तानकी आमा बन्दैछिन् । आमा बन्ने खवरले निकै खुशी मीना र उनको परिवारलाई कोरोना भाइरसको प्रभाव र लकडाउनले भने केही समय तनावग्रस्त बनायो । महिनावारी रोकिएको करिव डेढ महिनामा मीना आफ्नी सासुआमालाई लिएर पहिलोपटक बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा गएकी थिईन् । नाम दर्ता गरि सामान्य चेकजाँच पछि उनी पुन ३ महिनामा गएर जाँच गराई टीटी सुई लगाएर डाक्टरको सल्लाहअनुसार खानपिन र आराम गर्न लागिन् । तर कोरोना भाइरस नियन्त्रणका लागि देशव्यापि लकडाउन भएपछि उनको नियमित जाँच प्रक्रियामा पनि लकडाउन भएको छ ।  

लुम्बिनी प्रादेशिक अस्पतालबाटै कोरोना भाइरस संक्रमितको उपचारका लागि आइसोलेशन अस्पताल संचालन गरेपछि केही समयका लागि अस्पतालबाट गरिने सबै सेवाहरू बन्द भए । त्यतिवेला प्रादेशिक अस्पतालमा जाँच गराउन आउने गर्भवती महिला दिन पुगेपछि समयमा लगाउनु पर्ने टीटी सुई, आईरन चक्कीबाटै बन्चित हुन पुगे । तर अहिले अस्पतालले नियमित सेवा सुचारु गरेको छ ।

अहिले मीना र उनीजस्तै धेरै गर्भवती महिलाले फलोअपका लागि अस्पताल जान पाएका छन ।  तर कतिपय गर्भवतीहरू सार्वजनिक सवारी साधन नचलेका कारण अस्पताल आउन सकेका छैनन । 

तर समस्याको बीच पनि त समाधानको बाटो देखिएको हुन्छ । गर्भवतीका मात्र होइन सुत्केरी भईसकेका महिलाका अनुभव छ, सुत्केरी भईसकेपछि डर चाही हराउँदै गएको छ । डराइडराई सुत्केरी हुन अस्पताल पुगे पनि प्रसुति सेवा पछि भने उनीहरूका डर कम भएको अवस्था छ ।

पोखरा महानगरपालिका पोखरा ७ बस्दै आएकी शान्ति नेपाली १ महिनाकी सुत्केरी हुन् । विहान बेलुका छाकटार्न राहतको साम्रगीमा भर पर्नुपरेको उनको बाध्यता छ । पोखराका ४, ५ वटा अस्पतालमा सुत्केरी गराउन नमानेपछि उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी थिइन् । एम्बुलेन्स नपाएकोले उनी करिव ५ किलोमिटर हिडेरै अस्पताल पुगिन् । “त्यो दिन सम्झँदा त म बाँच्दिन जस्तो लागेको थियो” उनले भोगेको शारीरिक तथा मानसिक पीडा सम्झिइन् । पोखराकै पार्वती परियार पनि १३ दिनकी सुत्केरी हुन । अस्पतालबाट घर आएपछि बल्ल ढुक्क भएको उनी बताउँछिन् । पोखरा सामुदायिक अस्पतालमा उनले प्रसुती सेवा लिएकी थिइन् । आधा मन लिएर अस्पताल बस्नुपरेको उनको अनुभव छ । 

लकडाउन सुरु भएयता गर्भवती तथा सुत्केरीहरूले धेरै समस्या झेल्नुपरेको छ । घरमै थुनिनुपर्दा मानसिक चिन्ता, समयमा गर्भजाँच गर्न नपाउनु, किनमेलमा कठिनाई तथा आम्दानी घट्दा पोषिलो खानाको अभाव लगायत धेरैथरीका समस्या भोग्नुपरेको छ । लकडाउनबाट उत्पन्न यी समस्या अहिलेको अवस्थाका गर्भवतीहरूको साझा हुन् । 

यस्तो अवस्थामा गर्भवतीलाई मानसिक र शारीरिक रुपमा समस्या आउने सक्ने स्त्रीरोग विशेषज्ञ डा. गिरीधारी शर्मा  बताउनुहुन्छ । गर्भवतीले लकडाउनमा आधारभूत सुविधा, पोषिलो खाना, नियमित स्वास्थ्य परीक्षण पाएपछि उनलाई केही हुँदैन भनेर सम्झाउने वातावारण आवश्यक रहेको डाक्टर शर्माको भनाई छ ।
गर्भवतीलाई कोरोना टेष्ट छैन

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले अस्पतालमा आउने गर्भवती महिला सबैको पिसिआर टेष्ट गरेको छैन । आपत नपरिकन कोही पनि अस्पताल आउँदैन । त्यसैले हामीले पिसिआर टेष्ट गरेर त्यसको रिजल्ट पर्खन लाग्यौ भने हप्तौं लाग्न सक्छ । शंका लागेका विरामीको मात्र टेष्ट गर्ने गरेको डा. अर्जुन आचार्य भनाई छ । उहाँले भन्नुभयो – “प्रायः जसो अन्तिम अवस्थामा आउनुहुन्छ । त्यसैले उहाँहरूको टेष्ट गर्ने समय पनि हुँदैन, इमरजेन्सी केशमा अपरेशन नै महत्वपूर्ण हुन्छ” । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार गर्भवती तथा सुत्केरी सेवा कतै पनि नरोकिएको भनेपनि वास्तवमा निजी अस्पतालका सम्पूर्ण सेवा बन्द हुनु, प्रसुतीका लागि प्रख्यात अस्पताललाई सरकारले कोरोना हेर्ने अस्पतालको रुपमा अगाडि सार्नु, स्वास्थ्य जाँच गर्न जानका लागि यातायातका साधन नपाउनु, घर बाहिर निस्कन डराउँदा महिलाहरू नियमित परीक्षण तथा सेवाका लागि नजानु तथा यो बेला स्वास्थ्य संस्था सुरक्षित छ भन्ने पूर्ण विश्वास नहुँदा पनि थुप्रै गर्भवती तथा सुत्केरीहरूले सेवा लिन नसकेका हुन् । 

मणिपाल शिक्षण अस्पतालका एशोसियट प्रोफेसर तथा वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डाक्टर जुनु श्रेष्ठका अनुसार, यो जटिल अवस्थामा गर्भवती तथा सुत्केरी महिलाले आफूलाई बलियो बनाउन प्रयास गर्नुको साथै परिवारले पनि सम्झाइबुझाइ गर्नुपर्ने बताउनुहुन्छ । पहिले गरिएकै व्यवहार तथा स्याहारमा थप कुरा आवश्यक नपरे पनि उपचार नपाउने, राम्रो प्रसूति सेवा नपाउनेजस्ता चिन्ताहरू आउन नदिन परिवारका सदस्यको भूमिका महत्वपूर्ण हुने डा.श्रेष्ठ बताउनुहुन्छ । 

नियमित गर्भ परीक्षण गराउनै पर्ने तर लकडाउन तथा कोरोना संक्रमणको जोखिमका कारण परीक्षण गराउन नसकेमा डाक्टरलाई फोन गरेर आफ्नो अवस्थाबारेमा खुलस्त भनेमा डाक्टरहरूले सल्लाह पनि दिन सक्ने उहाँले जानकारी गराउनुभयो । मणिपाल शिक्षण अस्पतालले फोनबाटै परामर्श सेवा दिईरहेको पनि छ । लकडाउनको सुरुको अवस्थाभन्दा अहिले गर्भवती तथा सुत्केरीका विरामीहरू मणिपालमा भने बढेको उहाँ बताउनुहुन्छ । पहिला ५÷६ वटा अपरेशनको केश हुनेमा अहिले बढेर दिनैमा ११÷१२ सम्म पुगेको छ । पश्चिमाञ्चल अस्पताललाई कोरोना हेर्ने अस्पताल बनाएपछि मणिपालमा गर्भवती सुत्केरीको संख्या बढेको हो । 

डा.श्रेष्ठ कोरोना भाइरसले महिला वा गर्भवतीलाई बेग्लै रूपमा असर पार्छ वा पार्दैन भन्ने अहिलेसम्मको अध्ययनबाट पुष्टि नभएको तर यो अवस्था आफैंमा संवेदनशील रहेको हुँदा स्वास्थ्यको ख्याल भने गर्नुपर्ने बताउनुहुन्छ । 

सुत्केरीको मृत्यु 
कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो मृत्यु हुने व्यक्तिमा सिन्धुपाल्चोककी सुत्केरी महिला परिन् । कोभिड१९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु थियो भने उनी मृत्यु भन्दा केही दिन अघि मात्र काठमाण्डौंस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएकी थिइन् । त्यस्तै केही हप्ता अगाडि काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य जाँचका लागि आउजाउ गरिरहने भक्तपुरकी एक ३० वर्षिय गर्भवती महिलामा कोरोना पोजेटिभ देखियो ।  यस्ता केशका कारण पनि गर्भवती महिला अस्पताल पुग्न डराउने गरेका हुन् । 

अहिले अस्पताल जाँदा कोरोना लाग्छ कि भन्ने डर र अस्पतालसम्म पुग्न यातायात नपाउँदा बढीजसो गर्भवती र सुत्केरीको ज्यान गएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । लकडाउनको अवधिमा सरदर दुई दिनमा एक जना सुत्केरीको ज्यान जाने गरेको छ । महाशाखाका नर्सिङ्ग अधिकृत कुमारी भट्राईका अनुसार महाशाखामा रेर्कड भएको तथ्याङ्कअनुसार चैत्र १ देखि जेठ मसान्तसम्म ४० जना गर्भवती महिलाको ज्यान गएको छ । घरमै प्रसुति भएर ज्यान गुमाएकाको तथ्याङ्क भने यसमा समावेश गरिएको छैन । तर कोरोनाको महामारीमा समयमै स्वास्थ्य सेवामा पहुँच नहुँदा मातृमृत्युदर बढेको हुनसक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताउनुभयो । स्वास्थ्य समन्वय महाशाखा प्रमुख समेत रहनुभएका गौतमले यो अवधिमा कति सुत्केरी महिलाको मृत्यु भयो भन्ने विषयमा यकिन तथ्याङ्क आइ नसकेको बताउनुभयो । 

जोखिम न्यूनिकरण गर्न अस्पताल बन्द !
बुटवल प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स मीना पौडेलले यसपूर्व कहिले पनि अस्पतालबाट अति आवश्यक सेवा बन्द नभएकोमा कोरोना भाइरसको प्रकोपका कारण भने अहिले त्यस्तो सेवा पनि केही समय बन्द भएको जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवती र सुत्केरी महिला कोभिड–१९ को बढी जोखीममा पर्न सक्ने र अस्पतालमा सबै खालका विरामी आउने भएकाले जोखिम न्यूनिकरणका लागि अस्पताल प्रशासनले गर्भवती, सुत्केरी र बालबालिका लगायतका संवेदनशील सेवाहरू बन्द गरेको थियो । तर अब ती सेवा खुलेको छ ।

अस्पताल बन्द गर्दा नियमित र समयमा टीटी सुई लगाउन र आइरन चक्की समेत गर्भवती महिलाले प्राप्त गर्न सकेका थिएनन । कोरोना भाइरसको प्रभाव लामो समयसम्म जाने लक्षण देखिएपछि अहिले भने अस्पतालबाट दिने नियमित सेवा सुचारु गरिएको छ । नर्स मीना भन्नुहुन्छ– हाम्रो अस्पतालमा नियमित जाँच गराउन आउने गर्भबती महिलामध्ये आफ्नै साधन हुने धेरै जसो आउनु भएको छ । हामीले यतिबेला अस्पतालमा जाँच गराउन आउने गर्भवती महिलालाई आवश्यक चेकजाँच सहित कोरोना भाईरसको संक्रमणबाट जोगिने उपायहरू र आत्मबल बलियो बनाउने परामर्श सेवा समेत प्रदान गर्दै आएका छौं । 
कोरोना महामारी र लकडाउनले मानव जीवनका सबैजसो क्षेत्र प्रभावित छन् । त्यसमा पनि नेपालजस्तो स्वास्थ्य क्षेत्र बलियो नभएको देशका लागि कोरोनासँगै अन्य स्वास्थ्य चुनौतीहरू झनै समस्याको विषय बनेको छ । यति हुँदाहँुदै पनि सबैभन्दा बढी जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्यबारे समयमै सोच्न नसक्दा र सरकारको प्राथमिकतामा पर्न नसक्दा हजारौँ महिलाको ज्यान जोखिममा छ । कोरोना समस्या कति लामो समयसम्म रहने हो भन्ने निश्चित नभएको अवस्थामा भविष्यमा बढ्नसक्ने मातृशिशु मृत्यु दर घटाउने तर्फ सरकारले ध्यान दिनुपर्ने देखिन्छ । सरकारी स्तरबाटै ठाउँठाउँमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाउने, स्वास्थ्यमा समस्या देखिए तत्काल उद्धार गर्न प्रभावकारी संयन्त्र निर्माण गर्ने र गर्भवती तथा सुत्केरी महिलाका लागि स्थानीय तहमै स्वास्थ्य जाँच र उपचारको उपयुक्त प्रबन्ध गर्नुपर्ने देखिन्छ ।
अहिले सरकारले आफ्नो सबै संयन्त्र प्रयोग गरी सुत्केरी र प्रसुति सेवाका लागि विशेष व्यवस्था गर्नुपर्ने अवस्था आएको छ । तल्लो तहसम्म जानकारी राख्न सक्ने संयन्त्र व्यवस्था गर्नु पर्ने अहिलेको अवस्था छ । प्रदेश तथा संघमा बलियो सरकार भएको यो बेला पालिका, संघीय सरकारसँग समन्वय गरी गर्भवती तथा सुत्केरी लगायत विशेष अवस्थाका नागरिकको पहिचान गर्नु पर्ने आजको आवश्यकता हो । वडा वडामा सुत्केरी तथा नवजात बच्चाको लगत राखेर घरघर मै आवश्यक सरसल्लाह र स्वास्थ्य सेवा दिने जस्ता आवश्यक सुविधा दिनमा अब ढिलाई गर्नुहुन्न ।

(काठमाडाैंबाट रामकला खड्का, बुटवलबाट कल्पना न्यौपाने र पोखराबाट दुर्गा बाँस्कोटाको सहयोगमा विपद पत्रकारिता सञ्जाल, डिजेएन का लागि तयार पारिएकाे)

Author:

सिन्धुपाल्चोकमा भिषण पहिराे

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा २७ गते रातीको भीषण पहिरोले क्षतिकाे सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो । स्थानिय पहिरो पीडित/प्रभावितहरुसँग उहाँले छलफल पनि गर्नुभयो । 


Read more

टिका आर्शिवाद लिनुस् तर माक्स लगाएर भौतिक दुरीबारे ख्याल गर्नुस्ः डा. सुदिप खड्का

तपाईं दशैं र अन्य चाडवाड मनाउन घर  जाने तयारीमा हुनुहुन्छ ? कसरी मनाउने होला भनेर उल्झनमा हुनुहुन्छ ? तयारीमा हुनुहुन्छ भने ढुक्कले जानुस्, मज्जाले चाडवाड मनाउनुहोस् तर हरेक क्रियाकलाप सचेत भएर गर्नुस् । दशैंमा टीका, आर्शिवाद लिने दिने गर्दा कोबिड १९ संक्रमणको साटफेर नहोस् ।


Read more