20 Jul 20

कोरोनाले बिगारेको पर्यटनको लय

Lake side of Pokhara, पर्यटकहरूकाे चहलपहलले दिन-रात गुल्जार हुने पाेखराकाे लेक साइट लकडाउनका कारण पर्यटककाे अभावमा देखिएकाे सुनसान । फाेटाे ः कृष्णमणि बराल

 

दुर्गा देवी बास्तोला / पोखरा

कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिका कारण नेपालको सिंगो पर्यटन क्षेत्र अझै पनि बन्द अवस्थामा नै रहँदा व्यवसायीबीच छटपटी बढेको छ । चीनको वुहान शहरबाट सुरु भएकोे भाइरसको प्रकोपलाई विश्वस्वास्थ्य संगठनले माहामारीकै रुपमा अथ्र्याएको र नेपालले समेत झण्डै चार महिनादेखि लकडाउन जारी राख्दा समस्या झनै विकराल बनेको पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचन बताउँछन् । आर्थिक वर्ष २०७७।०७८ को नयाँ बजेटमा समेत सरकारले व्यवसायीले आसा गरेअनुसार पर्यटन क्षेत्रलाई सम्वोधन गर्न नसकेको गुनासो उनको छ ।  

नयाँ ठाउँ र फरकपनामा मानिसको चासो बढी हुन्छ । यही मानवीय स्वभावले पर्यटन उद्योग जन्मियो । पछिल्ला दशकमा संसारभरिका मानिसमा घुम्ने बानीको विकास अचम्म गरी बढ्यो । नेपालमा भने त्यस्तो क्रमले पछिल्लो डेढ दशकयता मात्र व्यापकता पायो । आन्तरिक होस् वा बाह्य– पर्यटन आफ्नै गतिमा अगाडि बढ्दै गरेको सुमधुर लयमा अहिले भने यसको रफ्तारले अप्रिय रोकावट झेल्नुपरेको, लय बिग्रिएको छ । तत्कालीन सरकार–माओवादी द्वन्द्व, भारतीय नाकाबन्दी र २०७२ सालको भुकम्पमा पनि पर्यटन यति टीठलाग्दो गरी प्रताडित हुनु नपरेको वरिष्ठ होटल व्यवसायी लक्ष्मीबहादुर भट्टराईको तर्क छ ।

सन् २०१९ को अन्त्यतिर कोभिड १९ भनिने कोरोना भाइरस चीनमा पहिलोपटक देखा परेको थियो । अहिले भने कोभिडको मुस्लो संसार निल्छु झैं गरी दन्किएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको यही कोरोना भाइरसका कारण अहिले पर्यटन क्षेत्र तातो बगरमा पछारिएको माछा जस्तो बन्न पुगेको छ । साँच्चै भन्ने हो भने यो भाइरसबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै भएको धेरै व्यवसायीले बताउँदै आएका छन् ।  

संसार भरि घुम्ने क्रम र आवागमन अहिले ठप्प जस्तो हुन पुगेको छ । नगन्य मात्रामा अन्तर्राष्ट्रिय हवाई उडानहरू भएका छन् । नेपालमा त सार्वजनिक यातायात संचालन हुन पनि समय लाग्ने देखियो । पर्यटनमा भएको खर्वौ रुपैयाँको लगानी डुब्ने अवस्थामा पुगेको छ । होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी र अन्य पर्यटकीय सेवा सुविधा ठप्प नै छन् । दर्जनौं पर्यटकीय प्रतिष्ठान बन्द हुन पुगेका छन् । व्यवसायी ऋणमा डुबेका छन् । बैंकको ताकेता बढेको छ । एक हिसावले हायलकायलको अवस्था छ । व्यवसाय टिकाउन राहतका लागि पश्चिमाञ्चल होटल संघले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको भए पनि खासै चासो नदिएको गुनासो संघका अध्यक्ष तुलाचनको रहेको छ । 

संकटग्रस्त सिंगो पर्यटन क्षेत्रको पुनःउत्थानका लागि राहतका कार्यक्रम ल्याउन तथा पर्यटन क्षेत्र टिकाउन अल्पकालिन र तत्कालका लागि राहतको जरुरी भएको व्यवसायीले माग गरेका हुन् । आर्थिक राहत, विद्युत र खानेपानीमा सुविधा, होटलहरूको दर्ता र स्तरीकरण, स्वास्थ्य सुरक्षा, मानव संशाधन, घरजग्गा बहाल, पर्यटन प्रबद्र्धन, विभिन्न पर्यटन क्षेत्रको प्रवेश शुल्क, पूर्वाधार विकास र पर्यटनका लागि कृषि क्षेत्रको योगदानका विषयलाई समेटेर केही हप्ताअघि पर्यटन क्षेत्रका तर्फबाट प्रदेश सरकारको ध्यानाकर्षण गराइएको हो । यसैगरी पुनर्कर्जा प्राप्तिको व्यवस्थालाई सरलिकृत गर्न र आगामी मौद्रिक नीतिमा व्यवसायीका माग संबोधन गर्न पनि व्यवसायीले माग गरेका छन् ।

देशभरको पर्यटन क्षेत्रको अवस्था उस्तै हो । काठमाडौंका पनि अधिकाशं रिसोर्ट तथा होटलले भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर सेवा, सुविधा तथा क्षमतामा पनि वृद्धि गरेका थिए । नयाँ खोलिएका ठुला साना होटेल तथा रिसोर्टहरूले पनि ठुलै लगानी गरेका छन् । होटेल तथा रिजोर्टका अलावा यातायातलगायतका अन्य क्षेत्रहरूमा पनि लगानी वृद्धि गरेको पाइन्छ । टुरिष्ट गाइड, कुक तथा अन्य व्यवसायमा पनि व्यापक रुपमा प्रशिक्षण कार्यक्रमहरू राज्यस्तरबाट नै संचालन गरिएको थियो । तर कोविड १९ ले यी सबै प्रयासलाई बालुवामा पानी समान बनाई दिएको छ । चितवनका पर्यटन व्यवसायीहरूले पनि ऋणको किस्ता तिर्न नसकेको गुनासो गरेका छन् ।

काठमाडौंमा पर्यटन क्षेत्रका लागि प्रशिक्षित पथप्रदर्शकहरू कोही गाउँ फर्केको अवस्था छ भने कोही रोजगारीका लागि वैकल्पिक क्षेत्रको खोजीमा छन् । उनीहरूका अनुसार केही वर्षसम्म पर्यटन उद्योगमा खडेरी नै लाग्छ । यही दृष्टिकोणले अन्य क्षेत्रमा लागेकाहरू फर्केर पुनः पर्यटन क्षेत्रमा नै आउने कम मात्रै संभावना छ । स्वयं पर्यटन व्यवसायीहरू नै पनि आफ्नो लगानी अन्यत्र स्थानान्तरण गर्ने मनस्थितिमा छन् । ठुला ठुला व्यवसायीकै अवस्था यस्तो छ भने साना व्यवसायीहरू बिच्किनु स्वाभाविक हो । समग्रमा भन्नु पर्दा पर्यटन उद्योगको पूर्वाधार नै डामाडोल भएको अवस्था छ । 

काठमाडाैंकाे एेतिहासिक तथा पुरातात्विक स्थल हनुमानढाेका दरवार परिसरकाठमाडौं ठमेल भनेपछि पर्यटकले खचाखच हुने ठाउँ हो तर अहिले त्यहाँ पनि पर्यटकको उपस्थिती शून्य छ । पर्यटकलाई ध्यानमा राखी खोलिएका पसलहरू पनि बन्द नै छन् । खुलेका पसलहरू पनि व्यापार गर्नका लागि नभएर घरमा बस्दाबस्दा वाक्क लागेर पसल खोल्ने बहाना बनाएर आएको व्यवसायीहरू बताउँछन् । सामान्य अवस्थामा दिनमै लाखौंको व्यापार गर्ने ती पसलहरू दिनभर खुल्दा पनि बोहनी नै नहुने अवस्थामा छन् । 

भ्रमण वर्ष २०२० को लक्ष बीस लाख पर्यटक भित्र्याउने थियो । पर्यटन वर्ष २०२० घोषणा गरे लगत्तै जनवरी महिनामा झन्डै ८० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि यो संख्या झन् घट्दै गयो । स्थलमार्ग भएर आउने बाहेक अन्य पर्यटक सर्वप्रथम काठमाडौंमा नै उत्रनु पर्दछ । एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा भएका कारण यो वाध्यकारी पनि होे । यसअनुसार पर्यटकहरु अन्य पर्यटकीय स्थलतर्फ प्रस्थान गर्नुअघि नै पनि काठमाडौंमा केही समय बिताउने हुन्छ । र, सोही अनुसार यहाँ पर्यटन व्यवसायीहरुको तयारी थियो । मुख्य गन्तव्य अन्यत्र नै भएका पर्यटक पनि आधा दिन मात्रै वा एक दुई दिन काठमाडौं उपत्यकाका विभिन्न ठाउँको भ्रमण गर्ने गर्दछन् । काठमाडौं उपत्यका ‘गेट वे’ मात्रै नभएर ऐतिहासिक र सांस्कृतिक दृष्टिले आकर्षक थलो हो । यसरी नै यहाँ प्राकृतिक सौन्दर्यको पनि आनन्द लिन सकिन्छ । यही भएर उपत्यकाको सहरी क्षेत्रमा मात्रै नभएर वरिपरिका ग्रामीण परिवेश पनि पर्यटकीय आकर्षणका स्थलहरु छन् । यहाँका पहाडी क्षेत्रमा सैयौं संख्यामा संचालित साना ठुला रिजोर्ट तथा होटेलहरु यसैको उदाहरण हुन् ।

वाह्य तथा आन्तरिक पर्यटकहरु बढी मात्रामा पुग्ने स्वयम्भू तथा बौद्ध स्तूपमा लक डाउन खुकुलो बनाएको अवस्थामा पनि प्रवेश निषेध कायम नै थियो । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनलाई बाहेक अन्यलाई प्रवेश गर्न नै दिइएन । यी जम्मै क्षेत्रमा स्थानिय व्यक्तिहरुको चहलपहल बाहेक अरु देख्न पाइँदैन । ३० जुनमा स्वयम्भूमा स्वयम्भू स्तूप परिसरमा एक विदेशी पर्यटक देखा परेका थिए तर उनी सोही क्षेत्रको कुनै गुम्बामा बसिरहेका थिए । चाँगुनारायण क्षेत्र, भक्तपुर दरवार स्क्वायर र पाटन दरवार स्क्वायरमा आउने आन्तरिक तथा वाह्य पर्यटकको आगमन प्रायः शून्य नै छ । हनुमानढोका दरवार स्क्वायरमा बाह्य पर्यटकको आगमन फाट्टफुट्ट देखिनु नै ठुलो मान्नु पर्ने अवस्था छ । सामान्य अवस्थामा पनि दिनमा अरु बेलामा नै केही समय घुम्नुबाहेक काठमाडौंका यी पर्यटकीय क्षेत्रहरु विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटकले भरिभराउ हुने खालका हुन् र काठमाडौंमा एक ठाउँबाट अरु ठाउँमा आउजाउ गर्ने वातावरण बनिसक्दा पनि आन्तरिक पर्यटकको गतिविधि पनि प्रायः शून्य हुनु भनेको अन्य क्षेत्र चलायमान हुन खोजिरहेको भएपनि पर्यटन क्षेत्र ठप्प नै रहेको जनाउ हो । 

संसारभरि नै महामारीका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ । वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुराँजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भएका छन् । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कथन छ, “नेपालमा पर्यटनसँग धेरै थोक जोडिएको छ । विमानसेवा, होटल तथा अन्य तमाम आपूर्तिका सञ्जाल यसमा जोडिएका छन् ।” नेपालमा पर्यटनले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, साढे तीन लाखलाई मौसमी रोजगारी दिने गरेको अनि अप्रत्यक्षसमेत गरी ११ लाख मानिस आश्रित रहेको जोशी बताउछन् । पर्यटकलाई घुमाएर प्राप्त हुने सेवा शुल्कबाट गुजारा गर्ने पर्यटक गाइडहरू अहिले कामविहीन छन् ।

होटल संघ नेपालमा देशमा पर्यटकलाई सेवा दिने सानादेखि तारेसम्म गरि ३५ सय होटल आबद्ध छन् । तिनले प्रत्यक्ष एक लाख अनि समग्र आतिथ्य क्षेत्रमा ४ लाखलाई रोजगारी दिएको बताइन्छ । अहिले ती सबै बन्दको अवस्थामा छन् । संघका प्रमुख कार्यकारी टेकबहादुर महतले भने– यहाँ खासगरी तीन वर्गका होटललाई तीन किसिमको समस्या परिरहेको छ । पहिलो वर्गमा पुराना र स्थापित होटल छन् जसलाई कर्मचारीको तलबभत्ता बेहोर्न मुस्किल परिरहेको छ । दोस्रो वर्गमा नयाँ लगानीमा बनेको वा बन्दै गरेका अन्तर्राष्ट्रिय चेनका होटल छन् जसलाई बैंकबाट लिएको कर्जा र ब्याजले सताएको छ । तेस्रो वर्गमा पर्यटकस्तरका साना होटल पर्छन् र यो वर्गले ९५ प्रतिशत होटल ओगट्छ । यिनीहरूचाहिँ धेरै भाडामा सञ्चालित हुनाले भाडा तिर्ने समस्यामा रहेका छन् । देशभरि रेष्टुरेन्टका संख्या पनि ४ हजारको हाराहारीमा छ । ती प्रत्येकमा २० देखि ३० जनासम्मको प्रत्यक्ष रोजगारी अनि त्यसैमा सागसब्जी, दूध तथा खाद्यान्नलगायत बेचेर कमाउने अन्य दशौँ हजार मानिसहरू अहिले प्रभावित छन् ।

पर्यटकीय गन्तव्य, पदमार्ग र होमस्टेको पूर्वाधार विकास तथा उद्धार र पर्यटन सूचना प्रणालीको विकास तथा व्यवसाय पुनर्जीवन कोष मार्फत् संकटलाई सम्वोधन गर्ने प्रतिबद्धता गण्डकी प्रदेशको नयाँ बजेटले व्यक्त गरेको छ । र, व्यवसाय टिकाउनकै लागि पोखरा पर्यटन परिषद्का महासचिव डिल्लीप्रसाद गौतमले घरजग्गा बहालमा सहुलियत प्रदान गर्न घर र जग्गाका मालिकहरूलाई आग्रह गर्दै परिषद्का तर्फबाट एक विज्ञप्ति समेत जारी गरिसकेका छन् ।

यसैगरी विश्व स्वास्थ्य संगठन, सम्बन्धित देशका सरकार र सरोकारवाला मिलेर घुमघामका प्रोटोकल तयार गर्नु जरुरी छ । मुख्य कुरा त सामाजिक दुरीको परिपालना नै हो । सरसफाईलाई ध्यान दिने परिपाटीमा कमी कमजोरी देखिनु हुन्न । नमुना परीक्षणका दायराहरू फराकिलो पार्न जरुरी छ । गन्तव्यमा स्वास्थ्य सुविधा राम्रो छ भन्ने ग्यारेन्टी सम्बन्धित सरकारले पर्यटकलाई दिन सक्नुपर्छ । नत्र घुम्न चाहनेहरूमा निश्चिन्तता पलाउन सक्दैन । होटल, रेष्टुुरेन्ट, पदयात्रा, भ्रमण र हवाई उडानमा सोही अनुसारको निर्देशिकाहरू लागू गरिनुपर्छ र तिनलाई कडाईका साथ अनुसरण गरिनुपर्छ । 

पर्यटनको नयाँ यात्रा आन्तरिक पर्यटनबाट थालनी गर्न सकिन्छ । प्रबद्र्धन र राहतका प्याकेजका लागि सरकारले केही नयाँ घोषणा गरेर अगाडि बढ्नुपर्छ । कर्मचारीलाई घुम्ने विदा र सरकारी पैसा दिन सकिन्छ । हप्तामा एक दिनको सट्टा दुई दिन विदा दिने व्यवस्था पनि अगाडि बढाउन सकिन्छ । कोरोनाले आपसमा बिथोलेको भाइचारा पुनर्जिवित गर्ने माध्यम पर्यटन बन्न सक्छ ।  

प्रदेश ५ मा पर्यटनको अवस्था 

प्रदेश ५ सरकारले पनि भ्रमण वर्षका रुपमा बाह्य र आन्तरिक पर्यटनलाई यस प्रदेशका १२ जिल्लामा रहेका पर्यटकीय स्थलहरू र पर्यटन व्यवसायको प्रवद्र्धनका लागि नविनतम योजना तथा कार्यक्रमसँगै अगाडि बढेको अवस्था थियो । यसैले पनि प्रदेश नम्बर ५ मा पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीले उत्साहका साथ लगानी गरी धेरैभन्दा धेरै पर्यटकलाई आफ्नो क्षेत्रमा आकर्षित गर्दै पर्यटनमा फड्को मार्ने योजना बुन्दै थिए ।  

तर कोरोनाको माहामारीले पर्यटन व्यवसायीको उत्साह, जोस, जाँगर र आशा निरासमा बदलिएको बताउँछन् नेपाल एसोसिएशन अफ ट्राभल्स एण्ड टुर्स एजेन्ट प्रदेश नम्बर  ५ का  प्रथम उपाध्यक्ष रचना पन्त । प्रदेश नम्बर ५ मा पर्यटन व्यवसायी महिलाको सख्या यतिनै हो भन्ने आधिकारिक तथ्याङ्क त छैन तर पनि प्रत्यक्ष महिलाको नाममा दर्ता भएका, श्रीमान श्रीमतीको नाममा दर्ता भएका र श्रीमानको नाममा दर्ता भएर श्रीमतीले संचालन गरेका पर्यटन उद्योग तथा व्यवसायको संख्या हेर्दा सन्तोषजनक नै रहेको छ । पर्यटनमा विशेष गरी महिला उद्योगीहरू भेषभुषा प्रदर्शन र संस्कृति संरक्षणमा तल्लीन रहेको पन्तको भनाई छ । कोभिडको प्रभावले भने साना तथा मझौला उद्योगीहरू केही विस्थापित भइसकेका छन् भने धरासायी पर्यटन क्षेत्र पहिलेको अवस्थामा आउने संभावना अलि टाढा रहेकाले तिनै तहका सरकारले पर्यटन व्यवसायीलाई सहयोग हुने राहतका प्याकेजका कार्यक्रमहरू ल्याउनका लागि सरकारलाई आग्रह समेत गरेको पन्तको भनाई छ । 

उत्साहका साथ लगानी गरेका व्यवसायी पनि बैंकको ब्याज र घरभाडा तिर्न नसकेर चिन्तित भएको होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भास्कर काफ्लेले बताए । ‘सरकारले नीति तथा कार्यक्रममा स्विकृत गरेको विद्युत महसुलको छुट, बैंक व्याजमा सहुलियत दिने लगातयका विषय कार्यान्वयनमा ल्याए हामी व्यवसायीले ठुलो राहतको अनुभूति गर्नेछौं’, उनले भने । 

पर्यटन प्रवद्र्धनलाई लक्षित गरेर संचालन गरेका उद्योग र व्यवसायलाई टिकाई राख्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी बताउछन् । ‘पर्यटन व्यवसायलाई परिस्कृत गर्न आगामी नीति, कार्यक्रम र बजेटमा व्यवसायमा गरेको लगानी, कामदारको सीपमा दक्षता अभिबृद्धि, बैंक ऋणमा व्याज अनुदान लगायतका  पर्यटनसँग सम्बन्धित धेरै विषय सम्बोधन गरिएको र त्यसलाई कार्यान्वयनमा लगिने छ’ मन्त्री गिरी बताउछन् । कोरोनाले अन्य क्षेत्रभन्दा पनि सबैभन्दा बढी पर्यटन उद्योग नै प्रभावित भयो । यो समस्या लामो समयसम्म रहन सक्ने वा भ्याक्सिनको आविष्कार भइ नै हाल्यो भने पनि प्रयोगमा आउन समय लाग्ने कुराले पनि पर्यटन व्यवसायीलाई अत्याउने काम ग¥यो । स्वास्थ्यसम्बन्धी सबै समस्या समाधान भएपनि विश्व बजारमा पर्यटकहरू ननिस्कने मनोविज्ञान बुझेका व्यवसायीहरूले ब्यावसायिक रणनीतिमा नै पुनर्विचार गर्न पुगेको पाइन्छ । र, आफ्ना कर्मचारीहरूलाई लामो विदा दिने तथा सेवाबाट अवकाश दिन थालेको पाइन्छ । पर्यटन निकै मात्रामा सम्वेदनशील क्षेत्र हो । यो व्यक्ति विशेषको आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक असरले पनि प्रभावित हुने क्षेत्र हो । यस अवस्थामा कोविड १९ को समस्या समाधान भइहाल्दा पनि  वाह्य पर्यटकको आगमन उल्लेख्य रुपमा बढ्ने देखिँदैन । यस अवस्थामा नेपालले आन्तरिक पर्यटनकै माध्यमबाट यस उद्योगलाई निरन्तरता दिइराख्नुपर्दछ । साथै यस अवस्थामा राज्य तथा नीजि क्षेत्रले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि योजना बनाउने, विचार विमर्श गर्ने तथा तयारीका कामहरूमा ध्यान दिनुपर्दछ । एकातिर नेपालमा प्रायः आन्तरिक पर्यटकले पथप्रदर्शकहरूको सहायता नलिएरै पर्यटन गरिरहेका हुन्छन् र यसको असरका रुपमा उनीहरूले पर्याप्त मात्रामा घुम्न तथा जानकारी पाउन सक्दैनन् । अबका दिनमा आन्तरिक पर्यटकले पनि तिर्नसक्ने मूल्यमा पथप्रदर्शकहरूले आफ्नो सेवा शुल्क निर्धारण गर्ने तथा पथप्रदर्शकको सहायता लिएर पर्यटन गर्ने बानी बसाल्नेतर्फ ध्यान दिनुपर्दछ । त्यसैले जोशीका अनुसार २०२० लाई पर्यटन जोगाउने वर्षको रूपमा लिने अनि २०२१ मा पुनर्उत्थान गरेर २०१९ को हाराहारीमा पु¥याउन सकियो भने सन् २०२२ देखि नेपालले पुन वृद्धिको मार्ग समाउन सक्छ ।

(बुटवलबाट कल्पना न्यौपाने, चितवनबाट देवी सापकोटा र काठमाडौँबाट discovery4p.com सम्बाददाताको सहयोगमा तयार पारिएको लेख/विपद पत्रकारिता सञ्जाल, डिजेएन)

Author:

सिन्धुपाल्चोकमा भिषण पहिराे

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा २७ गते रातीको भीषण पहिरोले क्षतिकाे सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो । स्थानिय पहिरो पीडित/प्रभावितहरुसँग उहाँले छलफल पनि गर्नुभयो । 


Read more

टिका आर्शिवाद लिनुस् तर माक्स लगाएर भौतिक दुरीबारे ख्याल गर्नुस्ः डा. सुदिप खड्का

तपाईं दशैं र अन्य चाडवाड मनाउन घर  जाने तयारीमा हुनुहुन्छ ? कसरी मनाउने होला भनेर उल्झनमा हुनुहुन्छ ? तयारीमा हुनुहुन्छ भने ढुक्कले जानुस्, मज्जाले चाडवाड मनाउनुहोस् तर हरेक क्रियाकलाप सचेत भएर गर्नुस् । दशैंमा टीका, आर्शिवाद लिने दिने गर्दा कोबिड १९ संक्रमणको साटफेर नहोस् ।


Read more