12 Jul 20

अनलाइन कक्षाः शिक्षिकालाई प्रविधिदेखि समय व्यवस्थापनसम्मका चुनौति

रामकला खड्का, काठमाडौं

डोल्मा लामा शाह बिहानै उठेर हतार हतार परिवारका लागि बिहानको खाजा तयार गर्छिन् । उनी अनलाइन कक्षाका लागि सबै तयारी गरिसकेपछि आफ्नी छोरीलाई पनि पढ्नका लागि ट्याबमा पासवर्ड हालेर तयार पारिदिन्छिन् ।

नक्सालस्थित बृहस्पती विद्यासदनकी यी शिक्षिका जब अनलाइन कक्षाका लागि जुम एपमार्फत आफ्नो अनलाईन कक्षाकोठामा प्रवेश गर्छिन्, नियमित कक्षामा भन्दा विद्यार्थीलाई अझै धेरै ध्यान दिनुपर्ने हुन्छ । अनलाइन कक्षा सञ्चालन गर्दा विद्यार्थीसँगै कतिपयको आमाबाबु पनि नजिकै वा वरपरै बसिरहने हुनाले आफूले पढाउँदा कुनै गल्ती होला कि, आफूले विद्यार्थीलाई गर्ने ब्यवहारमा कुनै विभेद होला कि, आफूले सबै विद्यार्थीलाई समान बोल्ने अवसर दिएको छ छैन लगायतका विषयमा सचेत हुनुपर्ने हुन्छ ।

कक्षा सकिने वित्तिकै भान्छामा गएर फेरि हतारहतार उनी खाना तयार पार्छिन् । खाना खाइवरि भान्छाको काम सिध्याउने वित्तिकै विद्यार्थीलाई दिइएको गृहकार्यहरू हेर्नुपर्छ । यो हेर्दाहेर्दै अर्को कक्षाको समय भइसकेको हुन्छ । कक्षा सिध्याएर परिवारका लागि खाजा बनाउने तयारी र खाजा खाएर एकैछिन पुनः गृहकार्य हेर्ने गर्नुपर्छ । बेलुकी परिवारका सबैलाई खाना खुवाइवरि ल्यापटपमा बसेर भोलि पढाउने विषयबस्तुको पावरप्वाइन्ट स्लाइड तयार पार्नु उनको लकडाउन पछिको दिनचर्या बनेको छ ।

माथिको दिनचर्या डोल्माको मात्र होइन, घर, कार्यालय, प्राकृतिक भूमिका तथा सामाजिक जिम्मेबारी धान्दै आएका अधिकांश शिक्षण पेशा अंगाल्दै आएका शिक्षिकाको हो । महिला भएकै कारण अनलाइन कक्षाले आफ्नो दिनचर्यालाई अझै बोझिलो बनाएको उनको भोगाइ छ । 

प्रविधि सिक्नु चुनौतिपूर्ण

देशमा लकडाउन सुरु हुँदा, शिक्षिका डोल्मा विद्यार्थीको अन्तिम परिक्षाको नतिजा तयारीमै ब्यस्त थिइन् । यसको केही समयपछि नयाँ शैक्षिक सत्र सुरु गर्दै विद्यार्थीलाई अनलाइन कक्षा पढाउने निर्णय उनको विद्यालयले ग¥यो । सुरु सुरुका दिनमा उनलाई निकै गाह्रो भयो । नयाँ प्रविधि भएकाले आफूलाई पनि सिक्नु पर्ने थियो । यसका साथै आफ्ना विद्यार्थी र उनीहरूका अभिभावकलाई पनि त्यसबारेमा सिकाएर कक्षा सञ्चालन गर्नु उनीहरूका लागि ठुलो चुनौति बनेको थियो ।

विद्यार्थी मात्र होइन अभिभावक पनि नयाँ प्रविधि भएकाले धेरै अन्योलमा परेका थिए । त्यसैले आफूहरूले पहिले विद्यार्थी र उनीहरूका अभिभावकलाई जुम एप चलाउन सिकाएको र कक्षा सुरु गरेको उनले बताइन् ।

सुरुमा विद्यार्थीले कक्षामा ध्यान नदिने, स्क्रिनमा धेरै कोर्ने, पछाडिबाट हल्ला गर्ने आदिले गर्दा कक्षा निकै ‘डिस्टर्ब’ हुन्थ्यो । कक्षा ब्यवस्थापन गर्न गाह्रो भएपछि विद्यालयले पाँच वटा ‘गोल्डेन रूल’ बनायो । उक्त नियम अभिभावकको लागि पनि थियो । अनलाइन कक्षामा अभिभावक पनि विद्यार्थीसँगै हुन्छन् । बच्चालाई अनुशासनमा राख्ने भूमिका उनीहरूको पनि उत्तिकै हुने हुनाले नियम तयार गरिएको थियो । विस्तारै उनले विद्यार्थीलाई “म्यूट”मा बस्न र कुनै प्रश्न सोध्न परे हात उठाउन र पालो पर्खन सिकाइन् । विद्यार्थीले पनि आफ्नो धारणा राख्नु परे मात्र “अनम्यूट” गरेर कुरा राख्न थाले ।

अनलाइन कक्षामा उनले भोग्नु परेको सबैभन्दा ठूलो समस्या इन्टरनेटको थियो । कहिले बत्ति गएर त कहिले “इन्टरनेट स्लो” भएर धेरै सास्ती खेप्नु प¥यो उनले । तर पहिलेको तुलनामा अहिले अलि सजिलो हुन थालेको उनको अनुभव छ । विद्यार्थीहरूले पनि नियम पालना गर्न थालेकाले पढाउन सहज वातावरण हुन्छ ।

 दोहोरो जिम्मेवारीको मारमा

बानेश्वरस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी शिक्षिका सुजना कार्कीलाई पनि अनलाइन कक्षाको लागि भ्याइनभ्याइ हुन्छ । एक त नौलो प्रविधि भएकाले जुम, गुगल क्लास रुमलगायतका एपमा आफू अभ्यस्त हुन र विद्यार्थीलाई त्यसमा बानी पार्न पनि उनलाई अलि अप्ठेरै प¥यो । नेपाली विषयकी शिक्षिका सुजनाले विद्यार्थीलाई गुगल क्लासरूममा गरेको गृहकार्य कसरी फिर्ता पठाउने भन्ने विषयमा विद्यार्थीलाई विस्तृत बुझाउन नसक्दा उनले गृहकार्यको फोटो खिचेर भाइबरमै पठाउन अनुरोध गरेकी छिन् । त्यसैगरी उनले आफूले विद्यार्थीलाई सिकाउने क्रममा नै प्रविधिका बारेमा विद्यार्थीले गर्ने जिज्ञासामा ‘मलाई त थाहा छैन, मेरो भाइले बनाइदिएको’ भनेर भन्ने गरेको नाम बताउन नचाहने एक अभिभावकले बताइन् । विद्यार्थीको कक्षा चलिरहेकै बेलामा उनले आफ्नी कसैलाई अह्राउँदै ‘नानी भात बसाल न जाऊ’ भन्ने गरेको पनि आफूले सुनेको ती अभिभावकले बताइन् । यद्यपी परिस्थिति यस्तो हुनुमा शिक्षिका कार्कीको कुनै गल्ती देख्दिनन्, ती अभिभावक । कार्की मात्र होइनन्, अन्य विद्यालयका शिक्षिकाहरूलाई पनि अनलाइन कक्षाले गर्दा पारिवारिक जिम्मेवारी निभाउन र घरको काममा पनि समय दिन भ्याइनभ्याइ पर्ने गरेको ती अभिभावकले राम्ररी बुझेकी छन् । तर यसरी समय व्यवस्थापनमा कठिनाइ पर्दा शिक्षिकाहरूले कक्षामा पनि पूर्ण ध्यान केन्द्रित गर्न नसक्ने हुन् कि भन्ने अभिभावकको गुनासोे हो ।

 पढाइबाहेक प्रशासनिक काम

कोटेश्वर मावि कोटेश्वरकी विज्ञान शिक्षिका रश्मी खड्का केही दिन यता विद्यालयमा जान थालेकी छिन् । विद्यालयमा पठनपाठन सुरु नभइसकेको अवस्थामा उनीसहितका अन्य शिक्षक शिक्षिकाले विद्यार्थीको भर्नामा सहयोग गर्ने, किताब बाँड्ने लगायतका काममा ब्यस्त हुन्छन् । हाल विद्यालयका विद्यार्थीले मेट्रो एफएमले संचालन गरेको रेडियो कार्यक्रममार्फत पढिरहेका छन् । टेलिभिजनको सुविधा हुनेहरूले भने टेलिभिजनमा पनि शैक्षिक कार्यक्रम हेर्ने गरेका खड्काले बताइन् ।

शिक्षिका खड्का र उनका सहकर्मी शिक्षिक शिक्षिकालाई लकडाउनका समयमा जुमसम्बन्धि तालिम पनि दिइएको थियो । कतिपय कम्प्युटरको न्यून ज्ञान हुनेहरूलाई कम्प्युटर कक्षाको लागि पनि विद्यालयले जुममा आउन आग्रह गरेको थियो । तर कम्प्युटर विषय नै गाह्रो लाग्ने र घण्टौं कम्प्युटरको स्क्रिनमा बसेर जुममा उक्त तालिम लिन सहज नभएकोले खड्काले लिन मानिनन् । उनले भनिन्, ‘बरू पछि विद्यालयले अनलाइनमै पठाउने भयो भने कोटेश्वरकै कुनै इन्स्टिच्युटमा बसेर सिकौंला ।’ त्यस्तै भक्तपुर दधिकोटस्थित भृकुटी माविकी शिक्षिका दुर्गा कोइराला पनि हिजोआज विद्यार्थीलाई पुस्तक बाँड्नकै लागि विद्यालय जाने गरेकी छिन् । यसका लागि अनिवार्य विद्यालय जानुपर्ने नियम बनाइएको भए तापनि विद्यार्थीलाई यस अवधिमा अनलाइन माध्यम वा अन्य कुनै विधिमार्फत अध्यापन गराउने भन्ने विषयमा विद्यालयले जानकारी नगराएको उनले बताइन् । ‘विद्यालय गयो, विद्यार्थीलाई किताब बाँढ्यो अनि फर्कियो’, उनले भनिन् ।

 विद्यालय क्वारेन्टाइनस्थल, पठनपाठन ठप्प

काठमाडौं उपत्यकाका धेरै नीजि विद्यालयले अनलाइनमार्फत पठनपाठन सुरु गरेका छन् । त्यसैगरी सामुदायिक विद्यालयहरूमा रेडियो टेलिभिजन कार्यक्रम सुन्नु र हेर्नुका साथै विद्यालयबाट उपलब्ध गराइएको पुस्तक घरमा बसेर पढ्ने अवसर विद्यार्थीले पाएका छन् । तर ग्रामिण क्षेत्रमा रहेका अधिकांश विद्यालयलाई क्वारेन्टाइन स्थल बनाइएकोले त्यहाँका विद्यार्थीलाई विद्यालयबाट न त पाठ्यपुस्तक नै उपलब्ध गराइएको छ,  न उनीहरूको रेडियो टेलिभिजनमा पहुँच नै हुन्छ । गुल्मीका अधिकाशं विद्यालयलाई पनि क्वारेन्टाइनका लागि प्रयोग गरिएकोले त्यहाँको पठनपाठन ठप्प रहेको पत्रकार गंगा खड्काले जानकारी दिइन् । अन्य कतिपय जिल्लामा कम्तीमा केही नीजि विद्यालयले अनलाइन अध्यापनको प्रयत्न गरे पनि शिक्षिक शिक्षिकाका लागि यो विषय नौलो विषय भएकाले निकै अप्ठेरो परेको देखिन्छ । नेपालगञ्जकी पत्रकार अक्षरी पोखरेले वडा नं. १०मा रहेको एक विद्यालयका प्रधानाध्यापकसँग अनलाइन पठनपाठनसम्बन्धी कुराकानी गर्दा ‘जुम एपमार्फत कक्षा संचालन गर्न नजान्ने शिक्षिकाहरूलाई जागिर छाडेर जाउ भन्नुपर्ला’ भन्नेसम्मका कुरा गरेको उनलाई उद्दृत गर्दै भनिन् ।

कोरोना महामारीका कारण विद्यालयलाई क्वारेन्टाइन बनाइएपछि कतिपय ठाउँका सामुदायिक विद्यालयहरूले टोलटोलमा कक्षा सञ्चालन गर्न थालेका छन् । एक दैनिक पत्रिकामा लेखिएको एक समाचारअनुुसार बागलुङको जैमिनी नगरपालिका ६ स्थित जनशिक्षित माविले विद्यालयमा पठनपाठन गर्न सम्भव नभएपछि टोलटोलमै गएर कक्षा सञ्चालन गर्न थालिएको विद्यालयका प्रधानअध्यापक नारायण चालिसेले बताए । करिव ८० प्रतिशत विद्यार्थी कक्षामा  सहभागी भइरहेका छन् । विद्यालयले हरेक टोलमा २÷२ जना गरी २० शिक्षक खटाएको छ । कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा दुई सय ७१ विद्यार्थी छन् ।

कोरोना कहरका कारण विद्यालय खोल्ने अवस्था नभएको भन्दै सरकारले गत जेठ २८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७’ जारी गरेको छ । जसअनुसार असार १ गतेबाट वैकल्पिक कक्षा सुरु गर्न सरकारले निर्देशन दिएको छ । तर ताप्लेजुङको सिदिङा गाउँपालिका ७ स्थित चाक्सीबोटे माध्यमिक विद्यालयकी कक्षा ७ की समीक्षा सेनेहाङ वैकल्पिक कक्षाबारे अनभिज्ञ रहेका अर्को एक दैनिक पत्रिकाले लेखेको छ । कक्षा ६का विद्यार्थी विक्रम राईलाई पनि यसबारे थाहा छैन । उनीहरूको घरमा रेडियो, टेलिभिजन र इन्टरनेट केही छैन । विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद पौडेलले अधिकांश अभिभावक न्यून आर्थिक अवस्थाका भएकाले घरमा रेडियो, टेलिभिजन नभएका र वर्षाद्ले गर्दा घरघरमा गएर सिकाउन पनि सम्भव नभएको बताए ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ मा दूरशिक्षा कार्यक्रम प्रभावकारी नदेखिएपछि विद्यालयले पठनपाठन सुरु गरेको छ । पकलेस्थित जनता कृष्ण माविले विद्यार्थीलाई चौरमा पढाउन थालेको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै दुरी कायम गरी, मास्क र सानिटाइजर प्रयोग गरी पठनपाठन सञ्चालन गरिएको र विद्यार्थी शिक्षकलाई पायक पर्ने गरी फरक फरक स्थानमा राखेर पठनपाठन भइरहेको विद्यालयले जानकारी दियो ।

पोखरा सुन्दर पर्यटकीय नगरी मात्र नभएर त्यहाँको बासिन्दाको शिक्षा, स्वास्थ्य, प्रविधिलगायतका क्षेत्रमा राम्रो पहुँच रहेको पाइन्छ । सिमलचौरस्थित जनप्रिय माविमा अहिले अनलाइन कक्षा सुरु भएको छ । सम्भव भएसम्म विद्यार्थीका लागि गुगल मिट, गुगल क्लासरुम, जुम र भाइवरबाट कक्षाहरू सञ्चालन भईरहेको विद्यालयका प्रध्यानाध्यापक देवी बस्ताकोटीले जानकारी दिए । अनलिमिटेड इन्टरनेट सेवा भएका विद्यार्थीलाई जुमबाट, डाटा लिएर कक्षामा सहभागी हुनुपर्नेलाई भाइवरबाट र त्यो पनि सुविधा नभएका विद्यार्थीलाई नेपाल सरकारले सञ्चालन गरिरहेको रेडियो टेलिभिजनका कार्यक्रममा सहभागी गराइएको छ । यस्ता सुविधामा पनि पहुँच नभएका विद्यार्थीको तथ्याकं संकलन गरेर पुस्तक वितरण गरिसकेको र अभिभावकको सहायतामा घरैमा स्वअध्ययनका लागि प्रेरित गरेको बताए । विद्यालयले भर्चुअल कक्षा सञ्चालन गर्नुभन्दा पहिले शिक्षकहरूलाई तालिम गरायो र त्यसपछि बल्ल कक्षा सुरु गरेको हो । प्रधानाध्यापक बस्ताकोटीले अहिले पनि हरेक दिन साँझ दिनभरि आइपरेका समस्याको विषयमा छलफल गर्दै समाधानको उपाय खोज्ने गरेको बताए ।

“कक्षा सञ्चालन गर्न त्यति सहज त भएन । तर पनि हामीले कहिल्यै विद्यालय बन्द गरेनौं । सबै शिक्षक व्यवस्थापन समितिको निर्णयबाट तहगत रूपमा शिक्षक इन्चार्ज तोक्यौं, त्यसपछि शिक्षक इन्चार्जले कक्षा शिक्षक र कक्षा शिक्षकले आफू मार्फत् विभिन्न तालिम दिएपछि मात्र यो सम्भव भएको” उनले बताए । ‘सुरुमा हामी आफैले जुममा वैठक बस्ने, छलफल गर्ने ग¥यौं । शिक्षिकाहरूलाई उहाँहरूका प्रविधिगत अप्ठ्यारा पक्षहरू सोधेर त्यसको हल गरेपछि सोही अनुसार कक्षाहरू संचालन गरिरहेका छांै । कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ् समेत सञ्चालन रहेको विद्यालयमा अहिले एक हजार छ सय ५१ विद्यार्थी रहेका छन् भने ६८ शिक्षक अध्यापनरत छन् । ‘यो अप्ठेरो अवस्थामा पनि काम, वैठक र अतिरिक्त कक्षाहरूमा समय दिइरहनुपर्ने भएकाले अहिले हामीले शिक्षिकाको अप्ठेरोलाई बुझेर त्यसैअनुसार समय व्यवस्थापन गरेका छौं’, प्रधानाध्यापक बस्ताकोटीले भने ।

यस्ता अनलाइन कक्षामा ९ र १० का विद्यार्थीलाई पढाउन सहज भएको शिक्षकहरूको अनुभव छ । साना कक्षाका विद्यार्थीलाई जोड्न सुरुमा गाह्रो भएपनि विस्तारै सहज भएको उनको अनुभव छ । ५० प्रतिशत विद्यार्थीलाई विद्यालयको प्रयासबाट यी कक्षामा जोडिएको र बाँकी २५ प्रतिशत विभिन्न एफएम रेडियोबाट प्रशारण हुने कार्यक्रममार्फत् कक्षामा सहभागी भएको र बाँकी २५ प्रतिशत त्यो भन्दा बाहेक किताव र टोलटोलमा गरिने टोल कक्षाबाट पनि लाभ लिईरहेका विद्यालयका शिक्षक प्रतिनिधि श्रीकान्त आचार्यले बताए ।

प्रधानअध्यापकका अनलाईन अनुभूति

लकडाउनको समयमा करिव आधा नीजि विद्यालय जसमध्ये अधिकतम शहरी क्षेत्रमा रहेका र केही सार्वजनिक विद्यालयहरूले बैकल्पिक मोडेलको रूपमा अनलाईन कक्षा सञ्चालन गरेका वृहस्पती विद्यासदन नक्सालका प्रधानाध्यापक कुमार थापाले बताए । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको मातहतबाट केही किताबका सफ्टकपीहरू, श्रव्यदृश्य सामग्री र गतिविधिहरू र टिभि तथा रेडियोमा विशेष गरी कक्षा ६ देखि माथि लक्षितगरी सामग्रीहरू प्रसारण भइरहेकोमा यसले विद्यार्थीलाई फाइदा पु¥याउने उनको अपेक्षा छ ।

अनलाईनको पहुँच र सम्भावना भएको ठाँउमा “सिनक्रोनस” अर्थात तोकिएको समयमा कुनै “भिडियो कन्फरेन्सिङ” याप जस्तै जुम वा गुगल मीट प्रयोग गरेर कक्षाकोठा कै ढाँचामा छलफल, कक्षाकार्य, मुल्याकंन, परियोजना कार्य, प्रस्तुति, अभ्यास, पृष्ठपोषण आदि गर्न सकिने उनले बताए । झन् अरु बेलामा कम बोल्ने वा आफ्नो कुरा राखी नहाल्ने विद्यार्थीलाई पनि छुट्टै व्यक्तिगत च्याटको माध्यमबाट झन् बढी खुल्नको लागि सहयोग गर्न सकिने उनको अनुभव छ । विद्यार्थीलाई बोल्न, प्रस्तुति दिन, लेख्न, फोटो र भिडियोको माध्यमबाट आफ्नो कामको प्रमाण रचनात्मक रूपमा प्रस्तुत गर्न लगाउँदा विद्यार्थीमा सिकाईले निरन्तरता पाईराखेको उनले बताए । साथै, “एसिन्क्रोनस” अर्थात विद्यार्थी आफ्नो लचिलो समयमा शिक्षकले दिएका अथवा आफै इन्टरनेटमा खोजी गरी सिकाईलाई निरन्तरता दिने र साथीहरूसँग अनलाईनमा छलफल गरी सोको अनुभव तथा विवरण शेयर गर्दा समयको झन उपयुक्त उपयोग हुने पनि उनको भनाइ छ ।

कतिपय शिक्षक शिक्षिका अनलाईनमा डिजिटल सामग्री प्रयोग गर्न त्यति सक्षम र समर्थ देखिँदैनन् । ‘यस्तो अवस्थामा कसरी संभव छ अनलाईन शिक्षा ?’ जिज्ञासा मेटाउँदै उनी भन्छन् , ‘हो, यो कुरा सत्य हो कि शिक्षकमा हुनु पर्ने डिजिटल साक्षरता र सक्षमता छैन । तर एउटा व्यक्ति हिजो जस्तो थियो आज त्यो भन्दा फरक हुनै सक्दैन, सिक्नै सक्दैन र आवश्यक सहयोग पाए पनि परिवर्तन हुनै सक्दैन भने जस्तो तर्क भएन र ? शिक्षामा लागेको व्यक्तिले त झन् प्रयास गरेर सिक्न सक्नै पर्छ ।’ यही प्रयासले नै अहिले विद्यालयहरू अनलाईन कक्षा सञ्चालनमा सफल भएका उनको अनुमान छ । यसमा सम्बन्धित विद्यालय, सरकारी निकाय र गैरसरकारी संस्थाले नीजि डिजिटल सामग्री तथा इन्टरनेट सेवा र टेलिकम प्रदायक निकायले पनि समन्वय गरी समाधान निकाल्न सकिने उनको धारणा छ ।

शिक्षिकामैत्री समय व्यवस्थापनः प्रविधिक ज्ञान लिन शिक्षिकाहरू “फरवार्ड”

लकडाउन अगाडि नियमित पढाइ हुँदाका समयमा करिव ८ बजे विद्यालय हातामा प्रवेश गरेपछि शिक्षिकाहरूलाई आफू खाना खाने, परिवारलाई खुवाउने, छोराछोरीले खाने र घरको कामआदि केहीको पनि चिन्ता हुन्नथ्यो । किनकी धेरै जसो विद्यालयले अहिले विद्यालयमै खाना र खाजा खुवाउने व्यवस्था गरेको पाइन्छ । त्यसैगरी आफ्ना साना नानीलाई पनि शिक्षिकामध्ये धेरैले आफूले नै पढाउन विद्यालयमा भर्ना गरेका हुन्छन् । त्यसैले पहिले विद्यालय छिर्नासाथ सबै कुराको तनाव कम हुने शिक्षिकालाई अहिले घरबाटै कक्षा लिँदा धेरै चटारो परेको काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी प्रधानाध्यापक सुनिता पौडेलले बताइन् । विद्यालयले पनि लामो समय अनलाईन कक्षा सञ्चालनका लागि आवश्यक प्रविधिगत तालिम दिएको थियो । यदि कुनै शिक्षिकालाई प्रविधिगत रूपमा अप्ठेरो परेको भए विद्यालयले सधैँ यसको समाधानमा पहल गर्ने उनले बताइन् । त्यसैगरी आफूहरूले अनलाइन कक्षाको समय रोज्दा पनि शिक्षिकामैत्री होस् भन्ने विषयमा ध्यान दिएको उनले जानकारी दिइन् ।

सामुदायिक विद्यालयहरूमध्ये काठमाडौंकै एक उत्कृष्ट विद्यालय मानिने ज्ञानोदय उच्च माध्यमिक विद्यालय, पुरानो कालिमाटीले पनि अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ । यसका लागि शिक्षक शिक्षिकालाई लकडाउनका बेलामै तालिम दिएको र अझै कसैलाई केही अप्ठेरो परेमा विद्यालयमा रहेको अत्याधुनिक आईसीटी ल्याबमा सम्बन्धित शिक्षकमार्फत तालिम दिइने गरेको विद्यालयका प्रधानाध्यापक नातीकाजी महर्जनले बताए । विद्यार्थीले छान्ने विषय र कक्षा अनुसार अनलाईन कक्षामा उनीहरूको उपस्थिति फरक रहेको उनले बताए । उनका अनुसार सबैभन्दा बढी कम्प्युटर विषय लिएर अध्ययनरत विद्यार्थी अनलाइन कक्षामा बढी सहभागी हुने गरेका छन् । अलिकति उमेर पुगेका शिक्षिकाहरूमा प्रविधिको ज्ञानको अभाव रहेको पाइए तापनि अहिलेका शिक्षिकामा भने सिक्ने र बुझ्ने क्षमता बढी रहेको उनले पाए–  “प्रविधिक ज्ञान लिन शिक्षिकाहरू ‘फरवार्ड’ हुनुुहुन्छ । तर म सिक्छु भन्ने चाहना चैं हुनुपर्छ । विद्यालयसम्म पुग्ने वातावरण नभए जुमबाटै तालिम दिनुपर्छ ।” त्यसैगरी अनलाईन कक्षाका लागि समय तालिका बनाउँदा पनि सबै शिक्षक शिक्षिका राखेर त्यसमा विद्यार्थी र अभिभावक पक्षबाट पनि सुझाव संकलन गरी सबैलाई उपयुक्त हुने समय छनौट गर्नुपर्ने उनको धारणा छ । ‘भात पकाउने र खाने समय पार्दा सबैलाई गाह्रो हुन्छ’, उनले प्रष्ट्याए । अन्य समयमा भन्दा अहिले पाठ योजना बनाउँन गाह्रो पर्छ । करिव तीन घण्टा पढाउनका लागि पावर प्वाइन्टमा स्लाइडहरू बनाउनुपर्ने, युट्युबबाट लिंकहरू खोज्नुपर्ने जस्ता कार्यले गर्दा शिक्षिकाहरू अतिरिक्त चाप बढेकाले यसमा सबै पक्षले सहयोग गर्नुपर्ने प्रधानाध्यापक महर्जनको भनाइ छ ।

प्राविधिक सुविधा दिन सरकारको बेवास्ता

अनलाईन अध्यापनका लागि इन्टरनेट सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले इन्टरनेटको संसारमा विद्यार्थी, शिक्षक, अभिभावकको पहुँच बढाउनुपर्ने प्रधानाध्यापक महर्जनको विचार छ । ‘विद्यार्थीका लागि डाटा प्याकमा सहुलियत दिनुपर्छ । स्कुललाई इन्टरनेट फ्रि गरिदिनुपर्छ’, उनले थपे । सामुदायिक विद्यालयलाई सरकारले डेक्सटप, ल्यापटपआदि उपलब्ध गराएको छ । तर इन्टरनेट सुविधा उपलब्ध नगराएकोेले काममा अप्ठेरो परेको बताउँदै उनले भने,‘शरीर बनाइदियो, प्राण छैन जस्तो भएको छ । त्यसैले इन्टरनेटको शुल्क सरकारले ब्यहोर्न सके राम्रो हुन्छ । डिभाइस शिक्षक विद्यार्थी, अभिभावकले जोहो गर्छन्’, उनले जोड दिए । सुविधा दिन सरकारले देखाएको उदाशिनताकै मारमा समग्र शिक्षा क्षेत्र परेको देखिन्छ ।

अभिभावकसँग सरसल्लाह गरेर सहमतिमै विद्यालयले आफ्ना विद्यार्थीसँग लकडाउनपछिका अवधिको न्युन मासिक शुल्क लिँदै आएको छ । आर्थिक पाटोलाई हेर्दा विद्यालयको व्यवस्थापन पक्षले यस्ता विभिन्न समस्या देखाइरहँदा शिक्षक शिक्षिकाले पनि आफू मारमा परेको गुनासोसुनिन थालेको छ । वृहस्पती विद्यासदनकी शिक्षिका डोल्मा लामाले अनलाईन माध्यममा विद्यार्थीलाई पढाउन नियमितभन्दा बढी खट्नुपर्ने भए तापनि तलबमा भने कटौती हुने गरेको बताइन् । कति प्रतिशत तलब उपलब्ध गराइएको छ भन्ने जिज्ञासामा उनले जवाफ दिन चाहिनन् ।

नीति छ सुविधा छैन

२०७६ साल कात्तिक १८ गते स्वीकृत राष्ट्रिय शिक्षा नीतिमा भएको ब्यवस्थाअनुसार सूचना तथा सञ्चार प्रविधिलाई शिक्षा प्रणालीको अभिन्न अंगको रूपमा एकीकृत गर्दै विद्यालय तथा शिक्षण संस्था प्रविधिको पूर्वाधार विकास गर्ने र शिक्षण सिकाई प्रक्रियालाई सूचना प्रविधिमैत्री बनाउने भनिएको छ । त्यसैगरी, विद्यालय तथा शिक्षण संस्थामा सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार विकास गर्दै उच्च गतिको इन्टरनेट सेवाको क्रमशः विस्तार गरिने पनि उल्लेख छ । उक्त नीतिअनुसार संघीय तथा प्रदेशस्तरमा रहने पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक तालिम प्रदायक निकायबाट इ–लाइब्रेरी, अनलाईन ल्याब, अनलाईन कक्षाकोठा, अनलाइन परीक्षा, इ–पोर्टफोलियो, आइसिटीसहितको पाठयोजना, विषय विशेषका शिक्षण साधन, पोडकास्ट, वेभ सेमिनार, एडुकास्ट, मेकरस्पेस र शिक्षण सिकाइमा आधारित एप्सहरूको विकास गरी प्रयोगमा ल्याइनेछ ।

सिकारू केन्द्रित शिक्षण सिकाइ प्रभावकारी रूपमा सञ्चालन गर्न सर्वब्यापी सिकाइ तथा व्यक्तिले सहजै प्रयोग गर्न सक्ने सामग्रीहरू जस्तैः ट्याब्लेट, स्मार्ट फोन, मोबाइल आदिको प्रयोगमा जोड दिनुका साथै नयाँ प्रवेश गरेका शिक्षकको क्षमता विकासका लागि सेवा प्रवेशको सुरूका केही वर्षमा एकजना अनुभवी र दक्ष शिक्षकको नजिक बसेर सिक्ने अवसर दिन ‘मेन्टर शिक्षक’को व्यवस्था गरी सबै शिक्षकलाई प्रविधि प्रयोगमा सक्षम तुल्याइने पनि नीतिमा उल्लेख गरिएको छ ।

नीतिमा यस्तो लेखिएको भए तापनि शिक्षिकाहरूका लागि लकडाउन र कोरोना महामारीका समयमा घरबाट अनलाइन कक्षा संचालन गर्दा प्राविधिक रुपमा निकै कठिनाई झेल्नु प¥यो । प्रविधिको अल्पज्ञान र उचित तालिमको अभावले यस्तो भएको देखिन्छ ।

के भन्छन् शैक्षिक संगठन ?

शिक्षा क्षेत्रमा सक्रिय एनप्याब्सले केही समयअगाडि उपत्यकाका पाँच जिल्लाका पाँच वटा विद्यालयमा एक अध्ययन गरेको थियो । विद्यार्थी र अभिभावकसँगको संवादमा गरिएको अध्ययनमा नीजि विद्यालयमा पढ्ने अधिकाशं विद्यार्थी लकडाउनपछाडिको समयमा काठमाडौं बाहिर रहेकाले अनलाइन पठनपाठनको प्रभावकारिता ४० प्रतिशतको हाराहारीमा मात्र देखिएको एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । ‘यो विधिबाट गराइने पठनपाठन पर्याप्त त हुनै सक्दैन, केही नहुँदा केही हुन्छ भन्ने सम्म हुन्छ’, उनले भने । अध्ययनमा मोबाइलमा फेसबुक चलाउनेको संख्या ठूलो भेटियो । तर मोबाइललाई पढाइसँग जोड्ने भन्नासाथ ‘छैन’ भनिदिने प्रवृति देखिएकाले अनलाइन पठनपाठनलाई अझै स्विकार्न नसकिएको अध्यक्ष सापकोटाको बुझाइ छ । शैक्षिक सत्रको सुरुवातमै अनलाइन कक्षा संचालन गर्नु परेकाले पनि सबैमाझ अन्योल छाएको बताउँदै उनले भने,‘ एक दुई महिना स्कुल संचालन भइसकेपछि अनलाईन कक्षा चलाउनु परेको भए खासै समस्या पर्ने थिएन । तर अहिले कक्षा शिक्षक को हो थाहा छैन, पाठ्यक्रम थाहा छैन, पढाइमा एकरुपता छैन ।’

अनलाइन कक्षाको अर्को महत्वपूर्ण पक्ष भनेको विद्यार्थीलाई कति समय डिभाइससँग एक्सपोजर गराउन मिल्छ भन्ने बारेमा कसैको ध्यान नगएको उनले बताए । सामान्यतयाः दिनमा दुई–तीन घण्टाभन्दा बढी डिभाइसमा एक्सपोजर हुन हुँदैन । तर अहिले लामो समय अनलाईनमा पढ्नु पर्ने र गृहकार्य पनि अनलाईन मै गर्नुपर्ने भएकाले विद्यार्थीको दृष्टिस्वास्थ्यमा ठूलो असर पु¥याउन सक्नेमा उनले सचेत गराए । एनप्याब्सन मातहतका विद्यालयलाई दिइने कक्षाकार्य र गृहकार्य क्रियाकलापलक्षित होेस् भन्नेमा ध्यान दिँदै फुलबारी, करेसाबारी, भान्छाकोठासँग जोडेर कार्य दिन आग्रह गरिएको उनले बताए । ‘एउटा समस्याबाट निस्कन खोज्दा अर्को समस्या निम्तिन सक्छ । हुन सक्छ, अर्को वर्ष आधाभन्दाबढी विद्यार्थीले चस्मा लगाउनुपर्ला’, उनले भने । यस्ता विविध समस्यालाई सम्वोधन गर्दै सरकारले अनलाईन कक्षासम्वन्धी आचारसंहित निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

शिक्षाविद्का धारणा

अनलाइन पठनपाठनलाई दीर्घकालिन विकल्पको रूपमा नभई पूरकको रूपमा मात्र लिन सकिने शिक्षाविद् सुसन आचार्यको धारणा छ । यो विधिबाट अध्ययन अध्यापन गर्नका लागि सबैको पहुँचको विषय नभए पनि कम्तीमा केही विद्यार्थीलाई सिकाइ र पढाइमा संलग्न गराइराख्ने माध्यम बनेको उनले बताइन् । घरबाटै अध्यापन गराउँदाका सन्दर्भमा शिक्षिकाहरूलाई समय व्यवस्थापनका लागि निकै गाह्रो परेको उनी स्विकार्छिन् । घरमै बसिरहेका बेलामा घरको काम तथा जिम्मेवारी पनि धेरै नै हुने तथा घर परिवार र विद्यालयको समेत काम सम्हाल्नुपर्दा धेरै कठिनाई आउन सक्ने भएकाले कक्षाको तालिका बनाउँदा शिक्षकशिक्षिका र अभिभावकलगायतका पक्षसँग सल्लाह गर्नु उनी उचित ठान्छिन् । सामुदायिक विद्यालयका विद्यार्थीलाई रेडियो र टेलिभिजनबाट अध्ययन गर्ने वैकल्पिक बाटो सरकारले देखाइदिएको छ । तर त्यसरी अध्ययन गर्दा पनि घरमा साधनस्रोतका साथै विद्यार्थीलाई उत्प्रेरणा पनि उत्तिकै आवश्यक रहेको उनको भनाई छ । ‘कतिपय आमाबाबुले आफ्ना छोराछोरीलाई गाइड गर्न सक्नुहुन्न, कतिपयलाई काममा जानुपर्छ । अनि यस्तो अवस्थामा छोराछोरीलाई पढ्नुपर्छ भनेर कसले हौस्याउने ?’, उनी प्रश्न गर्छिन् ।

आधुनिक दुर शिक्षाको थालनी

आधुनिक दूर शिक्षाको थालनीको श्रेय पिटम्यानलाई जान्छ । समय र परिस्थिती अनुरुप विश्वका विभिन्न भागमा दूर शिक्षाका विभिन्न प्रयोग भएको पाईन्छ । सन् १९२० र ३० को दशकमा रेडियोमा शिक्षाका कार्यक्रमहरू पनि प्रचलनमा आउँदै, ७०–८० को दशकमा टेलिभिजन हुँदै, ८०–९० को दशकमा सिडि रोम, एलएमएस र त्यसपश्चात १९९१ मा सुरु भएको डब्ल्यु डब्ल्यु डब्ल्यु डटकम, इमेल, एमएसएन र अझ १९९८को गुगलको आगमनले समय अनुसार शिक्षा र अन्य क्षेत्रमा समयसापेक्ष प्रविधिले प्रभाव पारी शिक्षा झन् सजिलो र पहुँचयोग्य हुँदै गएको प्रमाणहरू पाइन्छन् । सन् २००० यता त सञ्चार प्रविधिको उच्चतम् र द्रुत गतिमा विकास भएको युगको रूपमा हामीले उपयोग गर्दै आएकै हौं । सन् २००४ मा फेसबुक, सन् २००५ मा युट्युब, सन् २००७ पश्चात समार्टफोन र याप, वाइफाइ र डेटाले त धेरै सञ्चार, खबर, जानकारी, मनोरञ्जनका सामग्रीहरू हाम्रो औंलाको टुप्पोमै पाइन सकिने भएको छ ।

लामो समयदेखि प्रविधिलाई शिक्षण विधिको एक अंग मानिए पनि नेपालमा परम्परागत शिक्षण विधि अवलम्बन हुँदै आएकोमा कोरोना कहरले अनलाईन शिक्षण विधि अवलम्बन गर्न बाध्य बनायो । तथापि, धेरै जिम्मेवारीका कारण शिक्षिकालाई समय व्यवस्थापनमा समस्या परेकोले यसमा सरकार एवं सम्वन्धित पक्षले ध्यान दिएर अगाडि बढ्ने हो भने यो प्राविधिक शिक्षण प्रणाली नेपालले फड्को मार्ने एउटा महत्वपूर्ण अवसर हो ।

(पोखराबाट दुर्गा अधिकारीको सहयोगमा विपद पत्रकारिता सञ्जाल, डिजेएनका लागि तयार पारिएको लेख ।)

 

Author:

सिन्धुपाल्चोकमा भिषण पहिराे

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा २७ गते रातीको भीषण पहिरोले क्षतिकाे सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो । स्थानिय पहिरो पीडित/प्रभावितहरुसँग उहाँले छलफल पनि गर्नुभयो । 


Read more

टिका आर्शिवाद लिनुस् तर माक्स लगाएर भौतिक दुरीबारे ख्याल गर्नुस्ः डा. सुदिप खड्का

तपाईं दशैं र अन्य चाडवाड मनाउन घर  जाने तयारीमा हुनुहुन्छ ? कसरी मनाउने होला भनेर उल्झनमा हुनुहुन्छ ? तयारीमा हुनुहुन्छ भने ढुक्कले जानुस्, मज्जाले चाडवाड मनाउनुहोस् तर हरेक क्रियाकलाप सचेत भएर गर्नुस् । दशैंमा टीका, आर्शिवाद लिने दिने गर्दा कोबिड १९ संक्रमणको साटफेर नहोस् ।


Read more