12 Jul 20

क्वारेन्टाइन व्यवस्थापन र लैंगिक संवेदनशीलता

कल्पना तिवारी, बुटवल

मरे पनि आफ्नै जन्मभूमिमा मरिन्छ भनेर कोरोना संक्रमणको बीच छिमेकी मुलुक भारतबाट पाँच दिनको बाटो हिडेर बुद्धभूमि नगरपालिका पुगेका आठ जना महिलाहरूले आफ्नो गाँउ ठाउँमै कोरोना लिएर आएको भनी अपमान मात्र सहनु परेन, क्वारेन्टाइनमा समेत कहिल्यै नसोचेको पीडा भोग्नु पर्याे।

स्वदेश फिरेपछि उनीहरूलाई राखिएको भृकुटी उच्च माविको क्वारेन्टाइनमा खाना दिंदा जनावरलाई जस्तै निकै परबाट पोलिथिनमा बाधेर फ्याँकिदिन्थे र थप खाना दिइन्नथ्यो ।

सो कोरेन्टिनमा रहेकी रचना चौधरी भन्छिन्,– भारतमा मजदुरी गरिरहेका हामीहरू आफ्नो देश र जन्मभूमि आएपछि गाह्रो सारो र कोरोना भाइरसबाट पनि बच्ने भयौं भनेर हर्षित थियौ तर हामी गाँउमा आएपछि तिमीहरूले कोरोना ल्याएका छौं भनेर लान्छना लगाइयो, कति जनाले त अपशब्द नै प्रयोग गर्नुभयो ।  

उनीहरू १,२ दिन घरमै सुरक्षित तरिका अपनाएर बसे पनि सबैतिरबाट कोरोना ल्याए भन्ने भएपछि ३ दिनको दिनमा प्रहरी आएर बुद्धभूमि नगरपालिका –२ भृकुटी उच्च माविमा रहेको क्वारेन्टाइनमा लगियो ।

त्यहाँ पुरुषहरूलाई तल्लो तलामा र महिलाहरूलाई माथिल्लो तलामा राखिएको थियो । विद्यालयमा क्वारेन्टाइन राखिएकोले ढोकामा चुक्कल पनि राम्रोसँग लाग्दैनथ्यो । छिसिक्क आवाज आउदा पनि मुटु काम्थ्यो, रातभरि अनिंदो बिताउनु पर्ने अनुभव उनीहरूले संगाले । सुरक्षाको कुनै व्यवस्था नभएकोले पनि सधैं डर लाग्ने हुन्थ्यो । 

त्यहाँ पुरुष महिला बस्ने स्थान छुट्टै भएपनि शौचालय भने एउटै थियो, स्नानगृह पनि खुला चौरमा महिला र पुरुषको एकै ठाँउमा थियो । 

महिनावारी हुदा त झन प्रलय भएको अवस्था हुन्थ्यो । सोही बेला रचना महिनावारी भईन्, उनीसँग ३ वटा मात्र सेनेटरी प्याड थियो । त्यहाँ व्यवस्था थिएन, घरबाट कोही आउन नदिने, किन्ने पैसा पनि थिएन । त्यहि ३ वटा प्याडले उनले ५ दिन गुजारेको अप्ठेरो अनुभव उनीसँग छ । १४ दिनसम्म एउटै तन्ना, महिनावारीपछि तन्ना धुनलाई त्यहाँ साबुन–सर्फ पनि थिएन । रचना भन्छिन्, हामीले क्वारेन्टाइनको १४ दिन कठीन रुपमा बितायौं । एउटै घरपरिवारका छोरी, वुवा, आमालाई पनि भिन्दाभिन्दै राखिएकोले रातैभरी छोरी रोएर सबैको निन्द्रा खराब हुने गथ्र्यो । 

त्यसो त यहाँँ केही सुधारोन्मुख क्वारेन्टाइन पनि संचालनमा छन् । रुपन्देहीकै बुटवल उप–महानगरपालिका कान्ति माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकी गीता शाहले भने शौचालय र स्नानगृह महिलाले मात्रै प्रयोग गरेको अनुभव सुनाईन् । बिहान साँझको खाना र बसाई उनलाई ठीकै लागेको थियो तर सेवासुविधा र लैंगिक संवेदनशीलताको भने त्यहाँ पनि अभाव रहेको उनले बताइन् ।

यसो त कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित राख्न शङ्कास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुब्यवस्थित तरिकाले राखी समाज र नागरिक दुवैलाई सुरक्षित राख्न नेपाल सरकारले कोरोना भाइरस(कोभिड–१९) सम्बन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारलाई क्वारेन्टाइन संचालन गर्न निर्देशित गरिसकेको थियो । 

उक्त मापदण्डमा क्वारेन्टाइनको भौतिक पूर्वाधार, स्वास्थ्यकर्मीको ब्यवस्थापन, फोहोर ब्यवस्थापन, बासस्थान तथा बन्दोबस्तिको व्यवस्थापन, सुरक्षा, जनशक्ति, आर्थिक ब्यवस्थापन, संचालन ब्यवस्थापन तथा अनुगमन समिति तथा गर्न हुने र गर्न नहुने विषयको आचारसंहितामा उल्लेख गरिएको छ । तर हाल संचालन गरिएका क्वारेन्टाइन मापदण्ड अनुसार संचालन नभएको अधिकारकर्मी पोमनारायण पौडेलले बताए । उनले १५ दिनसम्म कपिलवस्तु जिल्लाका ८ वटा पालिकाहरूका २६ वटा क्वारेन्टाइनहरूको अनुगमन गरिसकेका छन् । 

अनुगमनका क्रममा अधिकारकर्मी पौडेलले क्वारेन्टाइनमा आवश्यक पूर्वाधारहरू जस्तै खानेपानी, शौचालय र कोठाहरू व्यवस्थित हुनुपर्नेमा धेरै जसो जिल्लाका दक्षिणी क्षेत्रका विद्यालयहरूमा सुरक्षाका हिसावले महिला र पुरुषहरू एउटै कोठामा सुत्ने गरेको, नीजिरुपमा प्रयोग गरिने सामग्रीहरू जस्तै पानी पिउने बोतल, शौचालय जाँदा प्रयोग गरिने भाडो एउँटै प्रयोग भएको पाइएको बताए । 

सरकारको क्वारेन्टाइन मापदण्डको वारेमा वडाका प्रतिनिधिहरूलाई समेत जानकारी नभएको, खाना तथा नास्ता घरवाटै लगेर खानु पर्ने अवस्था रहेको, खाट नभएकोले भुईमा सुत्नु पर्ने अवस्था रहेको, सबै क्वारेन्टाइनहरूमा सुरक्षाकर्मीहरू नभएकोले रातको समयमा कतिपय मानिसहरू भागेर घरजाने र अर्को दिन प्रहरीले घरवाट ल्याउने गरेको पाइयो । महिला, गर्भवती, सुत्केरी र बालवालिकाहरूका लागि आवश्यक पोषण, दूध, औषधिहरू र प्याडको नियमित आपूर्ति नभएको अनुगमनको ठम्याइछ ।

मापदण्ड अनुसार पालन गर्नु पर्ने भौतिक दूरी, मास्क, साबुन र सेनेटाईजर धेरै जसो ठाउँमा नभएको र भएको ठाउँमा पनि सामूहिकरुपमा प्रयोग गर्ने देखिएको, क्वारेन्टाइनमा बसेका सहयोगी तथा कर्मचारीहरूका लागि समेत आवश्यक स्वास्थ्य सुरक्षा उपकरणहरू सबै स्थलमा नभएको अनुगमनमा देखिएको छ ।

यस्तै, अधिकारकर्मी तथा सामाजिक अभियन्ता ज्ञानु पौडेललले क्वारेन्टाइनहरू अपांग, ज्येष्ठ नागरिक, किशोरी, बालवालिका र महिला अनुकूल नरहेको बताईन् । वर्षायाम भएकाले विभिन्न विषालु जनावर जस्तै बिच्छी र सर्पवाट बाँच्नका लागि खाट, सामान्य फिनाइल र लामखुट्टेबाट बच्नका लागि झुलको उपलब्धता कोरेन्टिनमा नभएको, कोठाका झ्याल र ढोका आदिका चुक्कुल नलाग्ने सबै क्वारेन्टाइनहरूमा बिजुली बत्तीको उपलब्धता नभएको, उपलब्ध गराइएका सेवाहरू कतिपय स्थलहरूमा गुणस्तरीय नभएको अनुगमनमा देखियो ।

पुरुष, महिला तथा तेस्रो लिंगीहरूका शारीरिक, मानसिक र स्वास्थ्यसम्बन्धि फरक आवश्यकता हुने भएकाले क्वारेन्टाइनमा खासगरी महिला हिंसाका घटनाहरू घट्न नदिनका लागि महिनावारी भएको अवस्था लगायत गर्भवती, सुत्केरी आदिहरूका लागि विशेष ब्यवस्था हुनु आवश्यक देखिएको र उनीहरूलाई सो जोखिमबाट सुरक्षित राख्नका लागि पनि लैंगिकमैत्री क्वारेन्टाइन हुनु पर्ने अधिकारकर्मी पोमनारायण र ज्ञानुले बताए ।
लैंगिकमैत्री क्वारेन्टाइनका लागि के–कस्ता योजना र वजेट आवश्यक पर्ला भन्ने विषयमा गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमीत्रा शर्मा क्वारेन्टाइनको गुणस्तरले नै कोरोनाको संक्रमणको अवस्था निर्धारण हुने भएकाले यसको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताउँछिन् । त्यसैले सुरुको अवस्थामा जे जसरी गरिएपनि आगामी दिनमा यसको ब्यवस्थापनका लागि क्वारेन्टाइनको छनौट गर्दा आधारभूत पूर्वाधारहरू जस्तै सुरक्षित कोठा, पानी, शौचालय लगायतका सबै सुविधाहरू भएको स्थलहरू मात्रै छनौट गर्नु पर्ने, विद्यालयहरू मात्रै नभई होटलहरू र अन्य यस्तै क्षेत्रहरूको पहिचान गरी प्रयोग गर्न सकिने, सबै क्वारेन्टाइनहरूमा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको प्रयोग भएको हुनु पर्ने उनको सुझाव छ । 

महिलाहरूका लागि छुट्टै क्वारेन्टाइन स्थलमा निर्माण गरी व्यवस्थित गर्नु पर्ने, मनोसामाजिक परामर्श सेवा नियमित रुपमा प्रदान गर्नु पर्ने, बालवालिका, सुत्केरी, किशोरी र गर्भवतीहरूका लागि विशेष स्याहारको व्यवस्थापन गरिनु पर्ने शर्माले बताईन् । 

क्वारेन्टाइन ब्यवस्थापनका लागि स्थानीयस्तरमा सरोकारवालाहरू सबै रहेको ब्यवस्थापन समिति गठन गर्नुपर्ने, प्रदेश तथा स्थानीय सरकारले आवश्यक पर्ने स्रोतहरूको ब्यवस्थापन तथा समन्वय गर्नुपर्ने र सो समितिले क्वारेन्टाइन व्यवस्थापन भए नभएको बारे सम्बन्धित ब्यक्तिले उजुरी गर्न सक्ने संरचना निर्माण गरिनु पर्ने र क्वारेन्टाइनमा बस्दाको समयसहज बनाईराख्न विभिन्न पाठ्य सामग्रीहरू तथा पत्रपत्रिकाहरू र सूचना प्रविधिहरूको उपलब्धता हुनुपर्ने उपाध्यक्ष शर्माले बताईन् ।

यस विषयमा रुपन्देहीको बुटवल उप–महानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले अहिले सम्म भोग्दै आएको समस्या र विपतमा कोभिड–१९ फरक खालको विपतका रुपमा आउदा क्वारेन्टाइन संचालनमा सुरुवातमा केही कमी भएको स्वीकार गर्दै क्रमिक रुपमा लैंगिक संवेदनशीलतामा सुधार गरिएको बताइन् । 

महिला, बालबालिका र विशेष अबस्थाका व्यक्तिहरूलाई सामुदायिक वा सार्वजनिक क्वारेन्टाइनमा बस्दा असहज र सुरक्षा पनि नहुने देखेपछि बुटवल उप–महानगरपालिकाले स्वास्थ्यकर्मीको निगरानीमा अहिले होम क्वारेन्टाइनलाई प्राथमिकतामा राखेको छ । उप–महानगरपालिकाले प्रदेश सरकारसँगको समन्वयमा विपत किट भण्डारण गरेर राखेको हुनाले अहिले क्वारेन्टाइनमा वसेका १३ वर्षदेखि १८ वर्ष सम्मका बालिका र १९ वर्षदेखि माथिका महिलालाई विपत किट वितरण गरिएको छ । उपप्रमुख आचार्यका अनुसार बुटवल उप महानगरपालिकाले अबको योजनामा भने भूमि र श्रम बैंकको व्यवस्था गर्ने अवधारणासहितको योजना ल्याएको छ । यो योजना कार्यान्वयन हुदा बाँझो जग्गा उर्वर हुने र रोजगारीको सृजना हुने उद्देश्य लिइएको छ भने यस योजनामा कोभिड १९को प्रभावमा परेका महिलालाई प्राथमिकतामा राखिएको छ ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरीले दिएको जानकारी अनुसार प्रदेशमा क्वारेन्टाइन एक हजार आठ सय एक  वटा, ४ वटा कोरोना विशेष अस्पताल र आवश्यकता अनुसार  आइसोलेसन वार्ड संचालनमा छन् । २०७७ असार २४ विहानसम्म यस प्रदेशमा बाहिरबाट आएका र शंकास्पद लागेका छ हजार तीन सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् । संक्रमण भएका तीन हजार नौ सय ४८ मध्ये दुई हजार छ सय छ जना निको भएर घर फर्केका छन् भने एक हजार तीन सय २९ जना उपचारमा छन् ।

उहाँका अनुसार हाल क्वारेन्टाइनमा रहेका महिला र पुरुष अलग अलग कोठामा बस्ने व्यवस्था मिलाइएको छ । क्वारेन्टाइन संचालनको दायित्व पूर्णरुपमा स्थानिय तह र जिल्लास्थित जिल्ला कोरोना क्राइसिस व्यवस्थापन सेन्टर (डि.सि.सि.एम.सी) को सहकार्यमा संचालन भएको चौधरीले बताए । क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमार्फत मनोसामाजिक विमर्शको बारेमा अन्तरक्रिया र छलफल पनि संचालन गर्दै आएको छ । 

सामाजिक विकास मन्त्रालयबाट स्थानीय तहको सहकार्यमा क्वारेन्टाइनको अनुगमनपश्चात पूर्ण व्यवस्थापनका लागि पृष्ठपोषण गरिएको छ । आगामी वर्षमा क्वारेन्टाइनको व्यवस्थापन सरल, सहज, ब्यवस्थित र लंैगिकमैत्री, लैंगिक संवेदनशील रुपमा संचालन गर्न स्थानीय तथा संघीय सरकारसँग सहकार्य गर्ने प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालयको नीति रहेको स्वास्थ्य महाशाखा प्रमुख चौधरीले बताए ।  
आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि कोभिड व्यवस्थापनमा प्रदेश सरकारले १ अरव वजेट छुट्टाएको छ कोभिड–१९ को असर लामो समयसम्म रहने विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार क्वारेन्टाइन लगायत सबै व्यवस्थापनमा लैगिक संवेदनशीलता अपनाएरै काम गर्ने डा. उमाशंकरले प्रतिवद्धता जनाए ।

गण्डकी प्रदेश र कोरोना व्यवस्थापन

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संंख्या एक हजार नाघिसकेको छ । कोरोना संक्रमण फैलिन नदिन गण्डकी प्रदेशका ११ जिल्लामा सात सय ९० वटा क्वारेन्टाइन र ३३ वटा आइसोलेसन वार्ड संचालनमा निर्माण भइसकेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका प्रवक्ता नवराज शर्माले बताए । 

प्रदेशमा कोरोना संक्रमितलाई उपचार गर्न ३३ वटा आइसोलेसन वार्ड निर्माण गरिएको जानकारी प्रवक्ता शर्माले दिएका छन् । पुरुष र महिलाको संयुक्त क्वारेन्टाइन हुँदा बलत्कारका घटना देखिएका छन् । कैलाली जिल्लाको लुम्कीचुहा नगरपालिका–१को सहीद स्मृति माध्यमिक विद्यालयमा बसेकी ३१ वर्षिया महिलामाथि क्वारेन्टाइनकै स्वयंसेवक तथा स्वास्थ्यकर्मीबाट सामुहिक बलात्कार भएपछि यो समस्या चुलिएको हो । बलात्कृत महिला भारतको बैंगलोरबाट फर्किएको र अन्य महिला अघिल्लो दिन क्वारेन्टाइनबाट घर गएपछि एक्लो परेकी थिइन् । जिल्लाहरूमा महिलामैत्री क्यारेन्टाइन समेत निर्माण गरिएको भएपनि ती प्रर्याप्त नभएको बताइएको छ । 

क्यारेन्टाइनमा बस्दाको समय बिहान बेलुकाको खाना, खाजा, पानी, स्वास्थ्य तथा बन्दोबस्तीका सामग्री सरकारी तर्फबाट नै व्यहोर्ने गरिएको जानकारी शर्माले दिए । त्यस्तै आइसोलेसनमा बस्दाको समय सम्पूर्ण खर्च, स्वाब परीक्षण सरकारको तर्फबाट व्योहोर्ने बताइएको छ । आगामी आर्थिक वर्षमा लैंगिकमैत्री भौतिक पूर्वाधारसहितका क्वारेन्टाइन संचालनमा प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्ने बताइएको छ ।

काठमाडौंमा महिला क्वारेन्टाइन

देशका विभिन्न स्थानमा भएका क्वारेन्टाइनमा महिलामाथि सामूहिक बलात्कार, भोकभोकै बस्नुपर्ने बाध्यता, विरामीले उपचार नपाउने, क्वारेन्टाइनमै आत्महत्या गर्ने लगायतका समाचार दिनहुँजसो विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । यस्तो अवस्थामा ललितपुर महानगरपालिकाले वडा नं.२६ स्थित सुनाकोठीमा एक व्यवस्थित र सुविधासम्पन्न महिला क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । 

क्वारेन्टाइन सुनाकोठीको बस्तीभन्दा अलि पर एकान्तमा रहेको छ । २७ बेड क्षमताको क्वारेन्टाइनको उक्त भवन पोषण पुनस्र्थापना गृहको हो । नेपाल युथ फाउन्डेसनको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याइएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । कोरोनापछि बन्दाबन्दीको अवस्थामा धेरैलाई मानसिक रोगले सताएको देखिन्छ । यसैका कारण बढेको आत्महत्याको रोक्न उक्त क्वारेन्टाइनमा मनोसामाजिक परामर्शदाताको पनि व्यवस्था गरिएको छ । 

नगरसभाबाट यस विषयलाई पारित गर्दै क्वारेन्टाइन सुरु गरेको बताउँदै नगरप्रमुख महर्जनले भने, ‘आत्महत्याको दर जतिसक्दो घटाउने प्रयास गर्नेछौं ।’ विभिन्न स्थानका क्वारेन्टाइनका समाचारले मर्माहत बनाएकाले हामी सोच्न बाध्य भयौं । यसैले हामीलाई महिला र बालबालिकाका लागि फरक क्वारेन्टाइन बनाउन प्रेरित ग¥यो ।’ महिला सम्वेदनशीलतालाई ध्यानमा राखेर क्वारेन्टाइन सञ्चालन गरिएको उनले बताए । 
उक्त क्वारेन्टाइनमा हाल नौ जना महिला बसिरहेका छन् जसमध्ये माल्दिभ्सबाट आएका तीन जना, भारत तथा खाडी मुलुकबाट फर्किएका महिला र बालक पनि रहेका पोषण गृहका एक कर्मचारीले जनाए । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि ललितपुर महानगरपालिकाले ब्यवस्थित र सफा क्वारेन्टाइन सुरु गरेको छ । त्यसैगरी, ज्यापु समाजका वृद्धाश्रममा एक सय १० वेडका क्वारेन्टाइनका लागि महानगरले हस्ताक्षर गरेको छ ।

काठमाडौं महानगरपालिकाले हालसम्म कुनै पनि क्वारेन्टाइनको ब्यवस्था गरेको छैन । तर यहाँका विभिन्न गैरसरकारी संस्थाले भने महिलालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् । मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लुएचआर)ले छहारीस्थित आवास गृहमा होल्डिङ सेन्टर एवं क्वारेन्टाइनको व्यवस्था गरेको छ । संस्थाले सुरुका दिनमा बुढानीलकण्ठ नगरपालिकासँग समन्वय गरेर ३२ दिनसम्म बेलुकीको खाना खुवाएको थियो । अन्य गैरसरकारी संस्था र व्यक्तिगत रूपमा गरिएका सहयोगमार्फत जम्मा ३६ हजार १०९ जनालाई खाना खुवाइएको संस्थाकी अनुगमन र मुल्यांकन अधिकृत कृष्णा देउजाले बताइन् । 

स्थानीय तहसँगकै समन्वयमा भारतबाट आएका ३२ जना पुरुषलाई पहिलो लटमा क्वारेन्टाइनमा राखेपछि आगामी दिनमा महिलालाई नै केन्द्रित गर्ने निर्णय संस्थाले ग¥यो । 

दोस्रो लटमा गत जेठ २९ गते कुवेतबाट आएका ४९ जना महिलालाई ल्याएर त्यहाँ राखियो । यी महिलामध्ये एक जना गर्भवती थिइन् । पीसीआर टेस्ट सम्पन्न भएपछि असार ५ देखि ८ गतेभित्रमा सबै आआफ्नो घर गए । असार ८ गते बेलुकी नै दुबईबाट अर्को ११ जनाको समूह आएको र जसमध्ये १० जना गर्भवती महिला र एक जना बच्चा पनि रहेको अधिकृत देउजाले जानकारी दिइन् । 

उनीहरूका लागि संयुक्त राष्ट्रसंघीय निकाय, युनाइटेड नेशन्स हाइ कमिश्नर फर रेफ्युजी (यूएनएफपीए) र युनाइटेड नेशन्स ओमन (यूएनओमन)ले स्यानिटरी प्याड, स्यानिटाइजर, टुथ पेस्टलगायतका सामाग्री वितरण गरेका थिए । यी महिला वैदेशिक रोजगारीमा गएका महिला नभई त्यहाँ कार्यरत आफ्ना श्रीमान तथा  आफन्तलाई भेट्न गएका हुनाले उनीहरूको आरडीटी परिक्षण दुबईमै भइसकेको थियो । काठमाडौं ओर्लिएर डब्लुएचआरको होल्डिङ सेन्टरमा बसेका र बेलुकीसम्म सबैलाई उनीहरूका आफन्तले घर घरमा लगेको संस्थाले जानकारी दियो । 

त्यसपछिका दिनमा पनि अमेरिका, कुवेत र कतारबाट आएका गरि पाँच जना क्वारेन्टाइनमा बसेकोमा उनीहरूको पीसीआर परीक्षण रिपोर्ट असार १९ गते नेगेटिभ आएपछि घर पठाइएको थियो । डब्लुएचआरमा केही दिनमा कुवेतबाट ५० जनाको महिला समूह आउने भएकाले त्यसको तयारी भइरहेको छ । यसका लागि पनि स्थानीय सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित क्वारेन्टाइनको ब्यवस्था गरिने भएको छ । क्वारेन्टाइनमा गर्भवती महिला र अन्य महिलाहरू रहने भएकाले उनीहरूका लागि ६ जना महिला सैनिकले सुरक्षा प्रदान गरिरहेका छन् । त्यसैगरी छहारीकै कर्मचारीले पोषणयुक्त खाना बनाएर दिने भएकाले खाना सफा र स्वस्थकर हुने देउजाको दावी छ । 

यता, चितवनको भरतपुर नगरपालिकाले पनि कोरोना कहर सुरु भएको केहि दिन पछिबाट जिल्लाबाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राखेको हो । विगत ३ महिनादेखि क्वारेन्टाइनमा बस्नेहरूको संख्या पहिलो महिनाको तुलनामा कम हुन थालेको छ । भरतपुर नगरपालिकामा रहेका ७ वटा क्वारेन्टाइनबाट हालसम्म दुर्ई सय २९ महिलाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनीहरू घर फर्केका छन् । अहिले एक सय १७ जना महिला क्वारेन्टाइनमा छन्, महिलाका लागि यहाँ पनि छुट्टै क्वारेन्टाइन भने बनाइएको छैन । संयुक्त रुपमै क्वारेन्टाइन भए पनि उनीहरूको सुरक्षामा प्रशासन सजग रहेको जिल्ला प्रशासन कार्यलय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए । अहिलेसम्म कुनै दुःखद घटना भएको छैन, आगाामी दिनमा महिलाका लागि छुट्टै क्वारेन्टाइन निर्माणलगायतका कार्य गर्ने योजना बनाएको सूचना अधिकारी सिम्खडाले बताए । 

यसरी यस अघि भएको कमजोर व्यवस्थापनमा सुधार ल्याउनुका साथै हालको अवस्थामा भएका कमी कमजोरी सच्याउँदै लैंगिकमैत्री र लैंगिक संवेदनशीलतामा ध्यान दिने सुझावलाई कार्यान्वयनमा लाने प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरी, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका प्रवक्ता नवराज शर्मा र बागमती प्रदेश ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्तरुपमा प्रतिवद्ध भएर लाग्ने जनाएका छन् ।

(रामकला खड्का, काठमाडौं, दुर्गा बास्तोला ,पोखरf र देवी सापकोटा, चितवनको सहयोगमा विपद पत्रकारिता संञ्जाल, डिजेएनका लागि तयार गरिएको लेख ।)

 

Author:

सिन्धुपाल्चोकमा भिषण पहिराे

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा २७ गते रातीको भीषण पहिरोले क्षतिकाे सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो । स्थानिय पहिरो पीडित/प्रभावितहरुसँग उहाँले छलफल पनि गर्नुभयो । 


Read more

टिका आर्शिवाद लिनुस् तर माक्स लगाएर भौतिक दुरीबारे ख्याल गर्नुस्ः डा. सुदिप खड्का

तपाईं दशैं र अन्य चाडवाड मनाउन घर  जाने तयारीमा हुनुहुन्छ ? कसरी मनाउने होला भनेर उल्झनमा हुनुहुन्छ ? तयारीमा हुनुहुन्छ भने ढुक्कले जानुस्, मज्जाले चाडवाड मनाउनुहोस् तर हरेक क्रियाकलाप सचेत भएर गर्नुस् । दशैंमा टीका, आर्शिवाद लिने दिने गर्दा कोबिड १९ संक्रमणको साटफेर नहोस् ।


Read more