काठमाडाैं / सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा २७ गते रातीको भीषण पहिरोले क्षतिकाे सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो । स्थानिय पहिरो पीडित/प्रभावितहरुसँग उहाँले छलफल पनि गर्नुभयो ।
सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्तिहरु बढिरहेको उल्लेख गर्नुहुँदै जोखिमयुक्त सूचिकृत नभएका बस्तीहरुमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताउनुभयो । सापकोटाले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने जानकारी दिंदै स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताउनुभयो ।
उहाँले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञहरुसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यबस्था गरिने प्रतिवद्धता व्यक्त गर्दै पहिरो पीडित/प्रभावितहरुको सुरक्षित बसोबासका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने बताउनुभयो ।

यसैबीच सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएहरुप्रति दु:ख व्यक्त गर्नुभयाे ।
पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ । २८ गते साँझ सम्म ११ जनाको शव निकालिएको थियाे भने २० जना अझै बेपत्ता रहेका छन् । पहिरोका कारण भीरखर्कका ४, नाकपुजेका ११ र नेवार टोलका ७ गरी २२ घर पूर्णरुपमा क्षति भएको छ । १७ घर जोखिममा रहेकाेे सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी भएकाे विज्ञप्तिमा जनाईएकाे छ ।
(साभारः newatimes.com)
