16 Aug 21

कोरोना संक्रमणविरुद्ध काकाकूल बनेको खोप !

अमिका राजथला

 

खोप ! खोप !! खोप !!! ‘‘देशको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप ।’’

उल्लेखित वाक्यमार्फत् खोपको महत्व दर्साउँदै यसलाई प्राथमिकीकरण गरेका थिए, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको पहिलो वैठकमा । विश्वासको मत पाएपछि प्रतिनिधि सभामा दलका नेताबाट बधाइ तथा शुभकामना दिने क्रममा उठाइएको जिज्ञासाको जवाफ दिने क्रममा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवद्धता व्यक्त गरे, ‘ऋण लगाएर वा सापट लिएर भएपनि जहाँ जहाँबाट पाइन्छ, जति महंगो भएपनि किनेर नेपाली जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता गरेका छौं ।’ कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको तयारी छ । खोपमा परनिर्भर हुनुपर्ने वाध्यता नै नेपाल तथा नेपालीको समस्या हो ।

चीनको वुहानमा सन् २०१९को डिसेम्बरमा शुरु भएको कोरोना भाइरस आगोको डढेंलोे फैलिएसरी फैलिएर पूरै विश्व आतंकित बनेको थियो, यो रोगको पहिलो चरणको शुरुवाती दिनमा । अजंगको डर बसेर शरीरनै सिरिंग हुने, मानसिक तनाव बढ्ने क्रम अझै यथावत छ, मानव समुदायमा । उड्दा उड्दैका चरा जमिनमा झरेर मृत्युवरण गरेजसरी कोविड संक्रमित व्यक्ति हिंड्दा हिंडदैका मानिस पनि ढलेर मृत्युवरण गरेको, कोविड संक्रमणले छाति नै उचालिने गरी स्याँस्याँ र घ्यार्रघ्यार्र गरी सास फेरेको, अनौठो आवाजले बोलेको, सयौं लाशहरु एउटै खाल्डोमा पुरेको जस्ता दृश्य इन्टरनेटको सुविधाले तत्क्षण विश्वमा फैलिन सघायो भने दू्रतगतिको यातायातले संक्रमणलाई विश्वव्यापी बनाउन सघायो ।

चीनको वुहानमा डिसेम्बर, २०१९मा फैलिएको कोरोना संक्रमण नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० माघ २०७६मा कोरोना संक्रमणको पहिलो घटना सार्वजनिक गरेको थियो । वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ती संक्रमित युवाले आफूलाई कोविड भएको खबर अस्पतालबाट निको भएर डिस्चार्ज भएपछि पाएका थिए, मिडियामार्फत । ३२ वर्षिय ती युवा पुस २८ गते परीक्षणका लागि शुक्रराज ट्रपिकल अस्पताल गएका थिए र निको भएर माघ ३ गते घर फर्किए ।  त्यसको झण्डै दुई महिना कुनै केश देखिएन तर  हालसम्म (मिति २०७८ साउन ३१ गते) को तथ्यांकअनुसार जम्मा सात लाख ३२ हजार २७२ जना जना संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म १० हजार २९२ जनाको मृत्यु भएको छ भने मुलुकमा ३९ हजार ३९८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ६ लाख ८२ हजार ६८२ जना निको भएका छन् । अहिलेसम्मको तथ्यांकअनुसार निको हुने दर ९३.२३ प्रतिशत छ, संक्रमणको दर ५.३७ प्रतिशत छ भने १.४१ प्रतिशतको मृत्यु भएको छ । यो संक्रमणको दरसँगै चिकित्सकहरुले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर फैलने कुरामा सचेत गराइसकेका छन् । गत २४ घण्टामा देशभर ७० हजार ७७० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

भूसको आगोसरी विश्वव्यापी फैलिएको कोरोना संक्रमणको औषधि तथा भ्याक्सिन पत्ता लगाउन, बनाउन चिकित्सकहरु दिनरात खटेका थिए भने अथक प्रयासपछि बेलायतले २०२० डिसेम्बरको पहिलो साता (२०७७ मंसिर तेस्रो साता) फाइजर खोपले मान्यता पायो । ९० वर्षीया मार्गरेट किनन कोविडविरुद्धको खोप लगाउने पहिलो महिला थिइन् ।

नेपालले कोभिड विरुद्धको खोप पहिलोपटक अभियान नै संचालन गरेर २०७७ माघ १४ गतेबाट भारतमा उत्पादित कोभिशिल्ड नामक खोप लगाएर शुरुवात गरेको थियो ।

नेपालमा कोरोनाको पहिलो लहर २०७६ माघ ९ देखि २०७७ चैत्र १ गतेसम्म महामारीको पहिलो लहर मानिएको छ भने चैत्र ११ गतेदेखि कडा लकडाउन गरिएको थियो । यस अवधिमा १७ हजार ५ सय २ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो लहरमा विदेशबाट फर्केका व्यक्तिबाट संक्रमण पुष्टि भएको थियो ।

यस्तै, २०७७ वैशाख २ गतेदेखि दोस्रो लहर मानिएकोमा वैशाख १६ गतेदेखि लकडाउन गरिएको थियो । दोस्रो लहरको संक्रमणका क्रममा भ्याक्सिन आइसकेपनि कतिपयले अविश्वासका कारण लगाउन हच्किए । तर भ्याक्सिन लगाएका संक्रमितमा कम जोखिम र स्वास्थ्य समस्या पनि कम भएको देखिएपछि अधिकांश खोपका लागि हौसिए तर खोप भने देशको राजनीतिक संक्रमणमा अल्झिएर आउँन नै ढीला भयो, खरिद गरिसकिएको खोप पनि भारतले पठाएन, दक्षिण यशियाका अन्य देशहरुले कोभ्याक्स कार्यक्रमअन्तर्गत खोप पाइसक्दा पनि नेपाल खोप उत्पादक मुलुकतिर आशाको नजरले हेर्दै रह्यो ।

दिनभर लाइन बसेर बिनाखोप फर्किनुपर्दा

साउनको चर्को घाम र झरीमा भिज्दै दिनभर खोपका लागि लाइन बस्ने तर साँझ परेपछि खोप सकियो भन्दै फर्काउने र फर्किने प्रवृत्ति देशभर नै देखियो । गर्मीको परवाह नगरी खोपका लागि भन्दै दिनभर लाइन बसेर साँझ खोप नलगाई फर्किनुपर्दा दुःख लागेको हेटौंडा-९ की रमिला सापकोटाले बताइन् । कोभिशिल्डको दोस्रो डोज लगाउन खोप केन्द्र पुगेकी उनलाई झण्डै ४ घण्टा लाइन बसेर पछि खोप सकिएको भन्दै फर्काइएपछि सामाजिक सञ्जाल फेसबुकमा उनले गुनासो पोखिन् ।

संघ, संस्थामा आबद्ध भएर सामाजिक अभियानमा जोडिएकी उनले आफूसँगै खोपको लाइनमा उभिएका धेरै जनाको अनुहार हेरेर अर्को विकल्प अपनाउन चाहिनन् । ‘भनसुन गरेको भए मैले त्यतिबेलै खोप पाउँथेँ, लाइनमा अरु पनि हुनुहुन्छ । नियममा लगाउँ भन्दा त्यत्तिकै फर्किनुपरेको हो’, उनले भनिन् । गत फागुन २७ गते कोभिशिल्डको पहिलो डोज लगाएकी उनले साउन तेस्रो सातासम्म पनि उक्त खोपको दोस्रो डोज पाइनन् । उनीजस्तै यहाँका अरु थुप्रै जनाले पनि पहिलो डोजमात्रै लगाएर बसेका छन् । पहुँचको बलमा अर्कै ढोकाबाट छिरेर कतिपयले पहिलो डोज नलगाउँदै दोस्रो डोज भनेर ल्याएको भ्याक्सिन लगाइदिँदा आफूहरुले नपाएको उनको आरोप छ । अब त्यो खोपले काम गर्ने वा नगर्नेबारे आफूहरु अन्योलमा रहेको समेत उनले बताइन् ।

६ महिनाभित्र उक्त खोपले काम गर्ने तथ्यहरु आएको भन्दै स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मण घिमिरेले दोस्रो डोज लगाउन बाँकी सबैलाई ६ महिनाभित्रै उक्त खोप दिइने बताए । भाद्र महिनाको १५ गतेभित्र कोभिड बिरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज दिइने भन्दै उनले पहिलो डोजको खोप लिनेलाई ढुक्क रहन आग्रह गरे ।

कार्यालयको तथ्यांकअनुसार कोभिशिल्डको पहिलो खोप लगाउनेमध्ये २८ प्रतिशतले मात्र दोस्रो डोज पाएका छन् । त्यस्तै, भेरोसेलको पहिलो डोज लगाउनेमध्ये २१ प्रतिशतले मात्रै दोस्रो डोज खोप पाएका छन् । जिल्लामा हालसम्म ३३ हजार ३०० डोज कोभिशिल्ड, ४९ हजार ९०० डोज भेरोसेल र २४ हजार ६०० डोज जोन्सन एन्ड जोन्सनको भ्याक्सिन भित्रिएको छ । जसमध्ये केही आपतकालीन प्रयोजनको लागि स्टक राखिएको र केही लगाउने क्रममा नै रहेको जनाइएको छ । प्राप्त जानकारीअनुसार विदेश जानुपर्ने, विशेष अवस्थाका र फ्रन्टलाइनरलाई आवश्यक परेमा तत्काल खोप दिइने छ ।

भुगोल र जनसंख्याको आधारमा मागअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा खोप वितरण गरिएको छ । जसमध्ये हालसम्म हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी खोप लगाइएको कार्यालयले जनाएको छ । सरकारको योजनाअनुसार यस अभियानलाई सबै स्थानीय तहबाट निरन्तरता दिइने जनाइएको छ ।

खोप अभियानमा अन्य जिल्लामा खोपको हाहाकार भए पनि मनाङ र मुस्ताङ जिल्लामा भने सबैले लगाईसकेको जनाइएको छ ।

कमजोर सुचना प्रणाली भ्याक्सिनको अन्यौल

डा. समीरमणि दीक्षितका अनुसार सरकारले पनि तदारुकतासाथ भ्याक्सिन उपलब्ध गराएर एक वा दुई महिना भित्रमा धेरैभन्दा धेरैलाई भ्याक्सिन  लगाउने ब्यवस्था गर्नु प्रमुख आवश्यकता हो । यसका लागि सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध गराउन सकेको छैन । यो अवस्थामा जनतालाई अलमल गरेर जोखिममा राख्नुभन्दा बरु निजी क्षेत्रलाई पनि खोप ल्याउने जिम्मा दिनु उपयुतm हुन्छ । किनकि अहिलेको आवश्यकता भनेको छोटो समयमा धेरैभन्दा धेरैलाई खोप लगाएर सुरक्षित गर्नु हो । निजी क्षेत्रलाई जिम्मा दिंदा कम समयमै धेरै खोप उपलब्ध गराउन सकिने र अहिले बजारमा ब्याप्त खोपको कालो बजारी  र अनियमिततामा पक्कै कमी आउनेछ । साथै सरकारले अक्सिजन सप्लाई, वेड सप्लाई, लगायत कोभिड नियन्त्रणका लागि आवश्यक औषधि लगायतका स्वास्थ्य सामाग्री तयारी अवस्थामा राख्नु जरुरी छ ।

नेपाल सरकारको कमजोर सुचना प्रणालीका कारण धेरै मानिसहरुमा भ्याक्सिन लिने वा नलिने विषयमा अन्यौल सृजना गराएको छ । तर भ्याक्सिन लिएकाहरु नलिएको भन्दा बढी सुरक्षित हुने र भ्याक्सिनबाट हुने जोखिमभन्दा फाईदा बढी भएको विज्ञहरुले बताउँदै आएका छन् । जहाँसम्म भ्याक्सिनको विश्वसनियताको कुरा छ, विश्व स्वास्थ्य संगठनले जाँच गरेर सहमति दिईसके पछि मात्र भ्याक्सिन ल्याउने भएकोले हल्लाको पछि लाग्नु भन्दा लगाउनु नै बुद्धमानी हुने डा. दीक्षितको तर्क छ ।

डा. दीक्षित अहिले फरक खालका म्युटेशन र भेरियन्टहरु देखा परिरहेको र एकभन्दा अर्को अझ बढी शतिmशाली भएकोले पहिले लगाएका खोपहरु कतिको प्रभावकारी हुन्छ भन्नेमा पनि यकीन नभएको बताउँछन् । तर नयाँ भेरियन्टहरु आउनु प्राकृतिक भएकोले आत्तिनुभन्दा सुरक्षाको उपायहरु अपनाउनु जरुरी रहेको उनको कथन छ ।

कमजोर खोप कुटनीति र व्यवस्थापन

परराष्ट्र मन्त्रालय अन्तर्गतको थिंक ट्यांक इन्स्टिच्यूट अफ फरेन अफेयर्स (आइएफए)का पूर्व प्रमुख डा. इन्द्र अधिकारीका अनुसार भ्याक्सिन आएर अरु देशमा वितरण भइसक्दा पनि हामीले पाउन नसक्नु भनेको तत्कालीन सरकार अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापनमा चुकेकै हो । खोपलाई छिमेक सम्बन्ध व्यवस्थापन गर्ने टूल बनाएनौं ।

भ्याक्सिन आएको प्रारम्भिक अवस्थामा भारततिरै निर्भर देखाएर उसको नेपालप्रति ध्यानाकर्षण गराउँछु भन्ने खालको मनोविज्ञानले तत्कालीन अवस्थामा धेरै काम गरेको थियो । त्यही समयमा चीनले थुप्रै भ्याक्सिन अन्त वितरण गरेको थियो, नेपाललाई प्रस्ताव पनि गरेको थियो तर नेपालले चीनबाट भ्याक्सिन ल्याउन सकृयता देखाएन । त्यही बेलामा नेपालले चीनबाट भ्याक्सिन ल्याउन सक्रियता देखाएको भए नेपालमा जुन खालको मानवीय क्षति भयो, नोक्सान भयो त्यो तहमा हुन्नथ्यो । हुनत शुरुमै भारतले भ्याक्सिन अनुदान दिएको थियो र खरिद गर्न पनि दियो तर  नेपालले खरिद गरेको आधा भ्याक्सिन मात्र पठायो । त्यो अवस्थामा भारतलाई नै कोविड संक्रमणले असाध्यै अप्ठ्यारो पारेकाले त्यहाँको सर्बोच्चले नै आफ्नो नागरिकलाई नपुग्ने गरी अन्त खोप वितरण नगर्न आदेश जारी गर्यो । हामीकहाँभन्दा बढी भारतमा थला पर्न थालेपछि आउने स्थिति थिएन । यद्यपि अब नदेउ भनेको थियो, दिई सकेको खोप रोक भनेको थिएन तर भारतले रोक्यो । खरिद गरिएको आधा अझै आउँन बाँकी नै छ ।

नेपालले शुरुमा कोविड संक्रमणको टेष्ट किट लिन जुनखालको समस्या भोग्नु पर्यो, त्यो भन्दा बढी समस्या भ्याक्सिन लिन भोग्नु पर्यो । परराष्ट्र विज्ञ डा. इन्द्र अधिकारीका अनुसार सरकारसँग साधन स्रोत, संयन्त्र हुन्छ, अख्तियारी पनि हुने हुँदा सक्रियता पनि सरकारले नै लिने हो । सरकार भन्ने वित्तिकै अभिभावक हो । देशमा कोविडको महामारी चलिरहेको बेलामा सरकारको प्राथमिकता चाहिं अरु (राजनीति) भईदियो । राजनीतिक व्यवस्थापन, पार्टीगत किचलो, आन्तरिक खिचातानीले गर्दा भ्याक्सिनलाई सरकारले प्राथमिकतामा राख्न सकेन । परिणामस्वरुप अरु धेरै देशमा भ्याक्सिन पुगिसक्दा, लगाई सक्दा पनि हामीकहाँ भ्याक्सिन आउँने परिस्थिति रहेन ।

राष्ट्रपतिको पहल

परराष्ट्रविद डा. इन्द्र अधिकारीकाअनुसार खोप खरिद तथा सहयोगका लागि राष्ट्रपछि विद्यादेवी भण्डारीबाट भएको पत्राचार गैर जिम्मेवार किसिमको थियो । उक्त पत्राचारले न राष्ट्रपतिको गरिमा जोगाएको छ, न देशको गरिमा बचाएको छ । उहाँको प्रश्न छ, हामीसँग यति धेरै संयन्त्र छन्- परराष्ट्र मन्त्रालय केका लागि ? राजदूतावास र  राजदूतहरु केका लागि ? जब क्राइसिसमा अरु देशसँग डिल गर्न परराष्ट्रको संयन्त्र प्रयोग गर्दैनौं, भने त्यत्रो संयन्त्र के का लागि ? परराष्ट्रजस्तो निकायलाई सामान्य पोष्ट अफिसजस्तो गरी खेलाइएको छ । हरेक मन्त्रालय प्रधानमन्त्रीअन्र्तगत हुने वित्तिकै त्यो त्यत्ति प्रभावकारी हुँदैन । परराष्ट्रका संयन्त्र पनि प्यारालाइज भए ।

डा. इन्द्रकाअनुसार सरकार राजनीतिक कारणले बदनाम भएको अवस्थामा त्यसलाई रिकभर गर्ने मनोवैज्ञानिकले नै हुनुपर्छ खोप डिप्लोमेसी भनेर राष्ट्रपतिलाई पत्राचारमा फसाइयो । राष्ट्रपतिले पत्राचार गर्दा कसैले पनि त्यसको प्रत्युत्तर दिएनन् । पत्राचार भनेको समकक्षीमा अभ्यास गरिन्छ । हाम्रो राष्ट्रपति कार्यकारी होइनन् । तर अमेरिकामा कार्यकारी भएकोले उनले रेस्पोन्स गरेनन् । त्यस्तै बेलायत, जहाँको रानीलाई दैनिक राजनीतिसँग कुनै चासो नै नहुनेलाई समेत पत्राचार गरियो, जबकि त्यहींका सांसदहरुले नेपालका लागि लविङ गरिरहेका थिए  । नेपालीहरुको डायस्पोरामा धेरै राम्रो प्रभाव भएकोले अमेरिका बेलायतमा संसदमैं यसको कुरा उठेको थियो । त्यस्तो ठाउँमा राष्ट्रपति गएर फसिन् ।

उनका अनुसार राष्ट्रपतिको राजनीतिक सल्लाहकारले सल्लाह नदिएर यस्तो हविगत नभएको चाहिं होइन । सल्लाहकारले सल्लाह दिने हो, लिने नलिने भन्ने कुरा सम्बन्धित अख्तियार प्राप्त व्यक्तिको कुरा हो । संस्थाले गर्ने भए पनि व्यक्तिको मनोविज्ञान, नियत सबैले काम गरेको हुन्छ । नेपालमा सल्लाहकार यस्तो मान्छेलाई राखिन्छ, सल्लाह दिने भन्दा पनि मनासय बुझेर त्यसलाई सहयोग गर्ने खालको सहयोगी राख्ने गरिन्छ । अधिकारीको कथन छ- सल्लाह दिंदा सम्बन्धित मान्छेलाई मन पर्छ कि पर्दैन भन्ने सोचेर होइन, ब्रम्हले देखेको कुरा भन्नुपर्छ । चाकडी गर्ने, खुशी पार्न कुरा गरियो भने त्यो सल्लाहकार होइन, सहयोगी हुन पुग्छ । मैले देखेको, चाहे प्रधानमन्त्रीकोमा होस् चाहे राष्ट्रपतिकोमा होस् यहाँ सल्लाहकार छैनन्, सहयोगी छन् । सल्लाहकार नहुनुको मतलब ज्ञान नभएर होइन ।

पछिल्ला दिनमा धनी देशले दिने योजना कोभ्याक्स कार्यक्रमअन्तर्गत पनि खोप आइरहेका छन् । अमेरिकाले नेपाललाई शुरुका दिनमा प्राथमिकतामा पनि राखेन, जबकि कतिपय दक्षिण एशियाली देशले पाए । हाम्रो चिठ्ठीका वावजुद पनि न चिठ्ठीको रेस्पोन्स गर्यो न खोपमा प्राथमिकता दियो । सबै राष्ट्रको लिष्टमा चाहिं राखेछ । यद्यपि पछिल्लो समय जोन्सन एण्ड जोन्सन खोप आयो ।

परराष्ट्रको संयन्त्र धराशायी बनाउने सरकार

परराष्ट्रविद डा. इन्द्र अधिकारीका अनुसार सम्बन्धित देशमा भएका राजदूतहरुले व्यक्तिगत पहल गर्ने कुरा यस्तो संकटमा संभावना कम रहन्छ । डा. इन्द्रको कथन छ, राज्यले नै राजदूतलाई म्यान्डेट दिनु पर्छ जबकि राष्ट्रपति नै अघि सरेपछि राम्रो भएन । त्यसमा पनि राष्ट्रपतिको चिट्ठीलाई नै बेवास्ता गरिएको अवस्थामा राजदूतलाई कुन रुपमा लिन्छन् होला ? अर्को कुरा राजदूतावासलाई इम्पावर नै गरिएन । साथै मन्त्रालयलाई पनि इम्पावर गरिएन ।  सबै परराष्ट्रसँग सम्बन्धित निणर्यहरु प्रधानमन्त्रीअन्तर्गत भए । प्रधानमन्त्रीको खटनपटनमा परराष्ट्र मन्त्रालय चल्ने भयो । त्यो भएपछि उसले आफ्नो विवेक, क्षमता, दक्षताको अभ्यास र प्रदर्शन गर्नै पाएन । परराष्ट्रलाई नै बाईपास गर्ने र थोपर्ने होइन । विज्ञता नभएकाले विज्ञहरुलाई थोपर्ने काम हुने, विज्ञहरुले त्यसरी होइन हजुर भन्न सकिरहेका छ्रैनन् । यो स्थितिले हामीले समयमा खोप नपाउने त छँदैछ, हाम्रा संरचनाहरुलाई धराशायी बनाउन पनि भूमिका खेल्यो । मन्त्रालय कमजोर भयो, मन्त्रालय कमजोर भएपछि मिशनहरु कमजोर भए र मिशन कमजोर हुने वित्तिकै उनीहरुले गर्ने अभ्यास कमजोर भयो ।

डा. इन्द्रको विचारमा, चीनले खोप दिन्छु भन्दाभन्दै हामीले खोप लिन किन सकेनौं । किन त भन्दा भारत चिढिन्छ भनेर । यो नेपालको मनोदशा दुर्भाग्यपूणर् हो । संकटको अवस्थामा जहाँबाट हुन्छ ल्याउँछौ भन्न सकिन्थ्यो । हाम्रो स्वार्थ भनेको पहिला जनता बचाउने हुन्छ । अरु रिसाउला कि भन्ने त होइन । सरकार टिकाउने नाममा अरुलाई खुशी राख्नका लागि (आफ्नो मनको कुरामात्र), भारतले चीनबाट नलिनु भन्दैनथ्यो होला । चीनको राष्ट्रपतिले भनेपछि न चीनबाट ल्याउने पहल भएको हो ।

कोभ्याक्स सुविधाअन्तर्गतको श्रीलंका, वंगलादेशजस्ता देशले पाइसक्दा पनि नेपालले नपाउनु भनेको आफैंले नै पहल गरेनौं, उनीहरुले शुरुका दिनदेखि अमेरिकालाई पहल गरेको गर्यै थिए भने नेपालले घोषणा हुनु केही दिन अघिमात्र पहल गर्यो । १४ लाख ज्येष्ठ नागरिकले कोभिशिल्ड लगाईसकेको अवस्थामा त्योसँग मिल्ने खोप आओस् भन्ने पनि थियो । समयमा निणर्य नगर्ने र संचार नगर्ने पनि हाम्रो कमजोरी हो, यो पनि कुटनीतिक कमजोरी नै हो ।

खोप आउनेक्रम बढ्दै

विश्वमा अहिले आएर खोपको उत्पादन दर पनि बढ्ेको छ भने नेपालमा पनि भ्याक्सिन आउने क्रम बढ्दो छ । साउन २८ गते स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधि सभामा जानकारी गराइएअनुसार सरकारले कोविड नियन्त्रणका लागि प्राथमिकतासाथ काम गरिरहेको छ । नेपाली जनतालाई पाँच करोड ५० लाख खोपको आवश्यकता पर्छ, जसमा १ करोडभन्दा बढी डोज खोप सुनिश्चित भइसकेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको कथन छ, ‘प्रधानमन्त्रीको प्रतिवद्धताअनुसार खोप आयातको दर बढाईएको छ ।’ राज्यमन्त्री श्रेष्ठका अनुसार ‘पहिलाको सरकारले ९७ लाख खोप प्राप्त गरेर १८ महिनामा ४२ लाखलाई खोप लगाइएको थियो । नयाँ सरकार आएपछि ७५ लाख खोप लगाइएको छ । वर्तमान सरकारले दैनिक एक लाख ५० हजारदेखि दुई लाखलाई खोप लगाउने गरेको छ ।’

डा. इन्द्रका अनुसार खोप बढी लगाउँदै गर्दा विदेशीको व्यापारको कुरा पनि हुन्छ, डिप्लोमेसीको कुरा पनि हुन्छ । उनीहरुको हितको कुरा पनि होला । संकटका बेला कसैले गुण लगायो भने त्यसबाट धेरै अर्थमा महत्व राख्छ । अन्तर्राष्ट्रिय सम्बन्ध पनि व्यक्ति व्यक्तिको जस्तो कुरा हो । भविष्यमा संयुक्त राष्ट्र संघ (युएन), विश्व स्वास्थ्य संगठन, राष्ट्रहरुले गर्ने सहयोग पनि केही बढ्ला तर अहिलेसम्म कति आउँछ भन्ने यकिन भने छैन ।

चीनबाट अनुदान र खरिद गरेर पनि आइरहेको छ । अहिले सबैभन्दा ठूलो उत्पादक तथा वितरक चीन नै बनेको छ, चाहे त्यो टेष्ट किटमा होस् या खोपमा र अन्यमा पनि  । संयोगले चीन हाम्रो छिमेकी पनि हो । डा. इन्द्रको विचारमा नेपालले चीनलाई थप खोपका लागि अनुरोध गर्यौं भने ‘नो’ भन्दैन होला । उसलाई पनि संकटमा नेपाललाई सहयोग गराउने चाह हुनसक्छ । आगामी दिनमा पनि चीनले मात्र नेपाललाई खोप दिन्छ र उसले मात्र पूर्ति गर्छ भन्ने अवस्था पनि अहिले छैन । त्यो चाहिं, हामीमा, हाम्रो नीतिमा प्रयास, पहलमा नै भर पर्छ ।

कोविड संक्रमण तिब्र, खोप अभियान सुस्त

गतसाल अर्थात् २०७७ माघ १४ गते बुधबारदेखि नेपालमा कोरोना भाइरस बिरुद्धको खोप अभियान सुरु भएको थियो । काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएर खोप अभियान सुरु भएको थियो । अभियान सुरु भएको ६ महिना बितिसक्दा पनि अझै सर्वसाधारणको पहुँचमा खोप पुग्न नसकेको भन्दै जनस्तरबाट सरकारको आलोचना हुने गरेको छ । सरकारले विभिन्न देशबाट अनुदानमा तथा खरिद प्रक्रियाबाट खोप भित्र्याएर छिटोभन्दा छिटो सर्वसाधारण सबैको पहुँचमा खोप पुर्‍याउने प्रतिबद्धता जनाउँदै आएको छ ।

काठमाडौं तथा देशका अन्य भागमा जस्तै मकवानपुरमा पनि गत माघमा हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीबाट नै खोप अभियान सुरु गरिएको थियो । त्यसपछि क्रमशः सफाई कर्मचारी, प्रहरी, पत्रकार, कर्मचारी लगायत फ्रन्टलाइनर, जेष्ठ नागरिक हुँदै सर्वसाधारणमा खोप लगाउन थालिएको थियो । जिल्लाका फ्रन्टलाइनरमध्ये हालसम्म करिब सबैले खोप लगाएको कार्यालयले जनाएको छ ।

हेटौंडामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण तीब्र रहँदा यसबिरुद्धको खोप अभियान भने अझै सुस्त छ । पर्याप्त मात्रामा खोप उपलब्ध नभएको कारण खोप अभियान सुस्त बनिदिँदा नागरिकले चाहना अनुसार खोप पाउन नसकेका हुन् ।

साउन तेस्रो साता मकवानपुरको हेटौंडामा कोभिड-१९ परीक्षण गराउनेमध्ये झण्डै ९१ प्रतिशतमा संक्रमण देखिएको थियो । उक्त संक्रमण दर हालसम्मकै उच्च भएको हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । सरकारले सबै नागरिकलाई कोभिड बिरुद्धको खोप दिने भनेपनि हालसम्म जिल्लामा ८४ हजार ६ सय ७८ जनाले खोप पाएका छन् । जसमध्ये धेरैले त पहिलो डोजको खोप मात्र पाएका हुन् । २०६८ को जनगणना अनुसार ४ लाख २० हजार ४७७ जनसंख्या रहेको मकवानपुरमा साउन तेस्रो सातासम्म ३७ हजार ७६ जनाले मात्र पूणर्खोप पाएका छन् ।

नेपालमा प्रयोग भएको भ्याक्सिन

नेपालीहरुले कोविड १९ विरुद्ध विभिन्न देशबाट आएको खोप लगाएका छन् । जसमा भारतको कोभिसिल्ड, चीनको भेरोसेल र अमेरिकाको जोन्सन एण्ड जोन्सन खोप लगाए । यस्तै, जापानबाट अस्ट्राजेनिक खोप पनि आइसकेको छ भने भुटानबाट पनि खोप सहयोग आईसकेको छ ।

रसियाको स्पुतनिक भ्याक्सिन नेपाल ल्याउने सहमतिमा हस्ताक्षर भैसकेको छ, भने सन् २०२२ को मार्चसम्ममा नेपाल पुग्ने गरी मोडर्ना भ्याक्सिन ल्याउने पनि सहमति भएको छ । मोडर्ना भ्यासक्सिन कोरोना माहामारी विरुद्धको विश्व व्यापि अभियान कोभ्याक्ससँगको सहकार्यमा ४० लाख खोप पाउँने गरी सम्झौता भएको हो । यो खोप १२ वर्ष उमेरमाथिकालाई लगाउने तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अगस्ट १५, २०२१को तथ्यांक अनुसार  जुलाई २०२१ सम्ममा कोभिशिल्डको पहिलो डोज  १८ लाख २८ हजार ४८४ खोप दिईको थियो भने दोस्रो डोज ४ लाख  ६० हजारलाई दिइएको थियो भने भेरोसेलको पहिलो डोज ७ लाख ८३ हजार ३२३ र दोस्रो डोज ६ लाख ४२ हजार ३९६ डोज खोप दिइएको थियो । यस्तै, जुलाई २०२१ पछि कोभिशिल्डको पहिलो डोज १८ लाख ६८ हजार ४२५, दोस्रो डोज ८ लाख ८ हजार ७५० दिइएको थियो भने भेरोसेलको पहिलो डोज २८ लाख १६ हजार ८४ र दोस्रो डा्ेज १२ लाख ७५ हजार ५०९ दिइएको छ ।  यस्तै, जोनसन एण्ड जोनसनको जुलाई पछि १२ लाख ७९हजार ८९८ डोज खोप दिइएको छ । यस्तै गएको ३० दिन भित्र कोभिशिल्ड,जोनसन एण्ड जोनसन र भेरोसेल गरेर ४३ लाख ३३ हजार ७२९ डोज खोप उपलब्ध गराइएको छ ।

अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोपको विश्वसनियतामा शंका गरेर खोप लगाउनमा आनाकानी गर्ने पनि धेरै थिए । तर स्वास्थ्य मन्त्रालयले जोन्सन खोपमा त्यस्तो कुनै खरावी नरहेकोले ढुक्क भएर खोप लगाउन आग्रग गर्दै विज्ञप्ती नै निकालेको थियो । राष्ट्रिय खोप प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झाले हामीसँग भ्याक्सिन लगाउनेबाहेक अर्को विकल्प नरहेको बताइन् । निर्देशक झाले भ्याक्सिनको बारेमा नानाथरी मनगढन्ते हल्ला बढी फैलाईएको र त्यसको कुनै आधिकारीक पुष्टी नभएको पनि स्पष्ट पारिन् ।

नेपालमा खोप अभियानको शुरुवात

नेपालले पहिलोपटक कोभिड विरुद्धको खोप अभियान २०७७ माघ १४ गतेबाट भारतमा उत्पादित अस्ट्राजेनिका नामक खोप लगाएर शुरुवात गरेको थियो, जसलाई कोभिड शिल्ड नामक ब्रान्डमा उत्पादन गरिएको हो । यो अभियानका लागी भारतले १० लाख खोप अनुदानका रुपमा नेपाल सरकारलाई उपलब्ध गराएको थियो । उतm समयमा २ लाख ७० हजार ९२ मानिसहरु कोभिड संक्रमित थिए । भने २०१७ जनाले ज्यान गुमाएका थिए ।

कोभिड संकटको समयमा अग्रपंतिmमा रहेर काम गर्ने स्वास्थ्य कार्यकर्ता, सहयोगी कर्मचारी, महिला सामुदायिक स्वास्थ्य परिचारिका, सुरक्षा अधिकृत, सरसफाई कर्मचारी, स्याहार गृहमा बस्ने बृद्धबृद्धा, कैदीहरुलाई उच्च प्राथमिकतामा राखि ४ लाख ३० हजार जनालाई खोप लगाईएको थियो ।

पहिलो चरणको खोप कार्यक्रमपश्चात् सरकारले पत्रकार र कुटनीतिक कर्मचारीहरुलाई खोपको ब्यवस्था गरेको थियो । फागुन २१ गते कोभिड विरुद्धको खोप अभियानको पहिलो चरण समाप्त भयो । त्यसपश्चात् थप ४ लाख ३८ हजार पहिलो मात्रा खोप लगाईसकेका थिए । भारतको सिरम कम्पनीले बाँकी १० लाख खोप नपठाउँदा दोस्रो चरणको खोप अभियान प्रभावित हुन पुगेको थियो । जापानबाट एस्ट्राजेनिका खोप आएपछि प्रभावितहरुलाई करिव चार महिनापछि लगाउन थालिएको छ ।

सरकारले समयमा खोप ल्याउन नस्कदा कोभिड सिल्ड लगाएका अधिकांश जनताले दोस्रो डोज लगाउन पाएको छैन । पहिलो डोज लगाएको ३ महिनाभित्रमा दोस्रो डोज लगाईसक्नुपर्ने भनिएतापनि सरकारले खोप उपलब्त्रध नगराएपछि अहिले जनतामा निकै अन्यौल थियो । विश्व स्वास्थ्य संगठनले भने पहिलो डोज मात्र लगाएतापनि यसले धेरै हदसम्म सुरक्षित हुन सक्ने हुँदा नआत्तिन आग्रह गरेको थियो ।

विभिन्न देशबाट प्राप्त खोप

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले साउन २८ गते प्रतिनिधिसभाको वैठकमा जानकारी गराएअनुसार नेपालका लागि पाँच करोड ५० लाख खोपको आवश्यकता पर्दछ । एक करोडभन्दा धेरै खोप सुनिश्चित भइसकेको छ ।  सरकारले कोभिड १९ नियन्त्रणका लागि सरकारले प्राथमिकता दिएर खोप आयात दर बढाइएको छ । मन्त्री श्रेष्ठका अनुसार ‘पहिलेको सरकारले ९७ लाख खोप प्राप्त गरेर १८ महिनामा ४२ लाखलाई खोप दिइएको थियो । नयाँ सरकार आएपछि ७५ लाखलाई खोप लगाइएको छ । वर्तमान सरकारले दैनिक एक लाख ५० हजारदेखि दुई लाख खोप लगाउने गरेको छ ।’ तर अगस्ट १५ सम्मको तथ्यांक केलाउदा ४३ लाख ३३ हजार ७२९ डोज खोप दिएको देखिन्छ । राज्यमन्त्री श्रेष्ठकाअनुसार मोडर्ना ४० लाख, जोनसन एण्ड जोनसन खोप ५० लाख,फाइजर ४० लाख र अष्ट्राजेनिका २० लाख गरी कुल एक करोड ५० लाख मात्रा खरिद सम्झौता भइसेकेको छ ।

भारतबाट कोभिडशिल्डः अनुदानमा प्राप्त ११ लाख डोज

भारतबाट खरिद गरेको १० लाख डोज

कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज

चीनबाट भेरोसेलः अनुदानमा १८ लाख डोज, अनुदान १६ लाख

चीनबाट खरिद गरेको ४० लाख डोज

अमेरिकाबाट जोन्सन एन्ड जोन्सनः  कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त १५ लाख ३४ हजार ५८० डोज खोप

जापानबाट एष्ट्राजेनिकाः  ८ लाख डोज खोप सहयोग

बेलायतबाट एष्ट्राजेनेकाः ३ लाख ४८ हजार डोज खोप कोभ्याक्स सहयोग

भुटान   एष्ट्राजेनेकाः तीन लाख डोज सहयोग

 खोपको पहिलो मान्यता

कोरोनाविरुद्धको खोपका लागि विश्वका थुप्रै कम्पनीहरु लागिपरे, विकास गरिए । जसमध्ये बेलायतले २०२० डिसेम्बरको पहिलो साता फाइजर खोपले मान्यता पायो । ९० वर्षीया मार्गरेट किनन कोविडविरुद्धको खोप लगाउने पहिलो महिला थिइन् । डिसेम्बरको दोस्रो साता अमेरिकाको खाद्य तथा औषधि प्रशासनले आपतकालिन प्रयोगका लागि फाइजरलाई मान्यता दियो भने पछि मोडर्नाको खोपलाई पनि मान्यता दियो । यसपछि अन्य देशहरुले पनि फाइजरलाई मान्यता दिए ।

कुन देशले कुन खोप उत्पादन गर्दैछ ?

चीनः सिनोभ्याक, सिनोफार्म, क्यानसिनो, एस्ट्राजेनिका

अमेरिकाः फाइजर, मोडर्ना, एष्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन

युरोपियन युनियनः फाइजर, एष्ट्राजेनिका

भारतः एष्ट्राजेनिका, कोभ्याक्सिन

बेलायतः एष्ट्राजेनिका

रुसः स्पुतनिक

स्वीटजरल्याण्डः मोडर्ना

दक्षिण कोरियाः एष्ट्राजेनिका्

(विपद पत्रकारिता संजाल, डिजेएनका लागि शोभा मानन्धर र शुभलक्ष्मी विश्वकर्माको सहयोगमा ।)कोरोना संक्रमणविरुद्ध काकाकूल बनेको खोप !

Author: DJN

कोरोना संक्रमणविरुद्ध काकाकूल बनेको खोप !

खोप ! खोप !! खोप !!! ‘‘देशको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप ।’’

साउनको चर्को घाम र झरीमा भिज्दै दिनभर खोपका लागि लाइन बस्ने तर साँझ परेपछि खोप सकियो भन्दै फर्काउने र फर्किने प्रवृत्ति देशभर नै देखियो । गर्मीको परवाह नगरी खोपका लागि भन्दै दिनभर लाइन बसेर साँझ खोप नलगाई फर्किनुपर्दा दुःख लागेको हेटौंडा-९ की रमिला सापकोटाले बताइन् । कोभिशिल्डको दोस्रो डोज लगाउन खोप केन्द्र पुगेकी उनलाई झण्डै ४ घण्टा लाइन बसेर पछि खोप सकिएको भन्दै फर्काइएपछि सामाजिक सञ्जाल फेसबुकमा उनले गुनासो पोखिन् ।


Read more

पत्रकारहरुलाई तनाव व्यवस्थापन तालिम

विपद पत्रकारिता सञ्जाल, (डिजेएन)ले संजाल सदस्यहरूका लागि तनाब व्यवस्थापनसम्बन्धी तालिममा तालिमको आयोजना ग-यो । जुलाई १८ मा आयोजित तालिम कार्यक्रमका प्रशिक्षक तथा मनोविद सुजिता बानियाँ हुनुहुन्थ्यो ।


Read more