काठमाडौं /
तपाईं दशैं र अन्य चाडवाड मनाउन घर जाने तयारीमा हुनुहुन्छ ? कसरी मनाउने होला भनेर उल्झनमा हुनुहुन्छ ? तयारीमा हुनुहुन्छ भने ढुक्कले जानुस्, मज्जाले चाडवाड मनाउनुहोस् तर हरेक क्रियाकलाप सचेत भएर गर्नुस् । दशैंमा टीका, आर्शिवाद लिने दिने गर्दा कोबिड १९ संक्रमणको साटफेर नहोस् ।
अमेरिकाको जर्जिया राज्यमा कार्यरत मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधी गरेका जीवाणु बैज्ञानिक डाक्टर सुदीप खड्काका अनुसार यो कोबिड १९ भाइरस तत्काल नियन्त्रणमा आउने सम्भावना छैन । हाम्रो देशमा अधिकांश व्यक्तिमा उच्च रक्तचाप, मधुमेहलगायतका थुप्रै स्थायी रोग भएकोले परिवाजनलाई भेट्दा उच्च सजगता अपनाउनु नै बुद्धीमानी हुनेछ । डा. सुदीपको कथन छ, ‘दशैंमा आशिर्वाद थाप्न जाँदा घरका बृद्धबृद्धालाई सार्न सकिने हुँदा दशाको कारक हामी आफैं त भईहरेका छैनौं भनेर सोच्नु पर्छ । दशैंमा धेरै फरकखाले भेटघाट हुने हुँदा दशैंपछि नेपालमा अर्को चरणको कोबिड १९फैलिने सम्भावना बढी छ ।’
कोबिड १९फैलिनु अघिदेखि नै नेपाल पटक पटक चुक्दै आएको र आगामी दिन अझै भयावह हुन सकने आंकलन गर्दै डा. सुदीपले भने, ‘सरकार शुरुमैं क्वारेन्टाइन व्यवस्थापनमा चुक्यो, पिसिआर र आरडिटी टेस्टमा चुक्यो, अहिले नै तयार नगर्ने हो भने विभिन्न देशले बनाउँदै गरेको औषधि पाउँने मामिलामा पनि नेपाल चुक्नेवाला छ ।’ उनले सचेत गराए, ‘प्रत्येक वर्ष चाहिने मल त सरकारले राम्रोसंग व्यवस्थापन गर्न सकेको छैन भने सबैले कहिले आउला भनेर पर्खिबसेको कोबिड १९को औषधि नेपालले कसरी पाउला ? अब पनि विदेशीले देलान् र पाउँला भनेर हात थापेर बस्ने मनस्थिति बनाएर बस्नु हुन्न ।’
विपद् पत्रकारिता संजाल, (डिजेएन) ले आयोजना गरेको ‘कोबिड १९ को वर्तमान अवस्था ः अमेरिकी अनुभव र नेपाली चिन्ता’ विषयक डिजिटल छलफल कार्यक्रममा डा. खडकाले समुदाय स्तरमा पीसीआर परिक्षणलाई व्यापक बनाउन सके संक्रमित पहिचान सहज हुनेमा जोड दिएका थिए ।
दुईसय बढी कोरोनाका प्रजाती भएको बताउँदै उनले भने, ‘विगतमा देखिएका पोलियो, इबोला जस्ता स्वास्थ्य समस्यालाई निमिट्यान्न पार्ने ठूलै चुनौतीको सामना विश्वले गर्नुपरेको थियो । निमिट्यान्न भएको भनेको बिफर मात्र हो । यस्ता महामारीले मानव समुदायलाई ठूलो जोखिम हुन्छ । इबोला रोगको उपचारमा समेत प्रत्यक्ष सहभागी भएका चिकित्सक सुदीपका अनुसार कोबिड १९ इबोला भन्दापनि डरलाग्दो किसिमबाट अगाडि बढिरहेको छ । इबोलाबाट एक लाख संक्रमित थिए भने कोबिड १९ले करोडौं संक्रमित भइसके । इबोलाका लक्षण देखिन्थ्यो र सतर्क रहन सहज हुन्थ्यो तर यसको लक्षण अधिकांशमा नदेखिने हुँदा एकबाट अर्कोमा सजिलै सरिरहेको, नियन्त्रण गर्न गाह्रोजस्ता कारणले र अब कोबिड १९ मानवसमाजबाट अब लोप हुँदैन । न्यूजिल्याण्ड, अमेरिका, यूरोप, अष्ट्रेलियाजस्ता विकसित देशतिर कोबिड १९ फेरिफेरि पनि फर्किफर्कि फैलिएको अवस्थामा नेपालले यसलाई कम आँक्न नहुने उनको सुझाव छ ।
त्यस्तै, कार्यक्रममा डा.खडकाले गम्भीर लक्षण नदेखिए घर मै आइसोलेशनमा बस्न सुझाव पनि दिए । कोरोनाका दर्जनौ औषधी परिक्षण भइरहेकाले तत्काल औषधी बजारमा आइहाल्छ भन्ने एकिन नभएकाले माक्स लगाउने, समयसमयमा हात धुने, भीडभाडमा नजाने जस्ता व्यवहारलाई दैनिक जीवनमा अपनाउन उनले सुझाव दिए । कोबिड १९ मानविय संरचनालाई नै परिवर्तन गर्ने खालको रोग भएकोले सुरक्षित रहन ज्यादै सचेत हुनु पर्ने, मास्क, भौतिकदूरी, सरसफाई जस्ता कुरालाई विशेष ध्यान दिनु पर्ने चिकित्सक सुदीपको सुझाव छ ।
कोरोनाले बृद्धबृद्धा र दीर्घ रोगीलाई थप जोखिम पुग्ने हुँदा यसलाई सामान्य ढंगबाट बुझ्नु गलत हुन्छ । दशैं नजिकिंदै गर्दा थप जोखिमतर्फ संकेत गर्दै उनले भने, ‘टिका आर्शिवाद लिनुस् तर माक्स लगाएर भौतिक दुरीबारे ख्याल गर्नुस ।’ कोरोनाको जोखिम बढेकाले सामाजिक दुरी र व्यक्तिगत स्वच्छतामा बिशेष ध्यान पु¥याउन डा.सुदीप खड्काले जोड दिएका छन ।
कार्यक्रममा मौसम परिर्वतनसंगै संक्रमणको जोखिम बढेको हो भन्ने संचारकर्मीहरुको जिज्ञासालाई प्रष्ट पार्दै उनले जाडोमा संक्रमण फैलन्छ भन्नेमा कुनै सत्यता नभएको तर बन्द कोठामा संक्रमण फैलिन डर बढी हुने हुँदा कोठामा बाहिरी हावाको प्रवाहमा ध्यान दिनुपर्ने बताए । कोरोना भाइरस कोठामा लामो समयसम्म रहन सक्ने हुँदा होशियारी अपनाउनु जरुरी हुन्छ ।
कार्यक्रममा डब्लुडब्लुजेका अध्यक्ष तथा डिजेएनका संयोजक अमिका राजथलाले कोरोना कहर सुरु भएदेखि नै डिजिटल संवाद गर्दै आएको र आगामी दिनमा अझै प्रभावकारी कार्यक्रमहरु आयोजना गर्दै जाने जनाइन ।
देशका बिभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरु सहभागिता रहेको डिजिटल संवाद कार्यक्रममा बरिष्ठ पत्रकार निर्मला आचार्य, दुर्गा अधिकारी, अक्षेरी पोखरेल, देवी सापकोटाले छलफलमा भाग लिएका थिए ।
28 Sept 2020