Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

नागरिकलाई सुसूचित गरेर विपद जोखिम न्यूनीकरण गर्न सकिन्छ

Posted on April 12, 2024 by admin

काठमाडौं । प्रविधिको प्रयोग गरेर, नागरिकलाई सुसूचित गरेर तथा सम्बन्धित निकायलाई तालिम उपलब्ध गराएर संभावित विपदको जोखिम न्यूनीकरण गर्न सकिने हुँदा सरकारले प्रविधिको प्रयोग बढाउन उचित पहल गर्नु पर्ने विज्ञहरूले बताएका छन् ।

विपद पत्रकारिता सञ्जाल, डिजेएनद्वारा आयोजित ‘विपद र नेपालमा प्रयोग हुँदै आएका प्रविधि’ विषयक डिजास्टर डाइलग कार्यक्रममा बोल्दै एनसेट नेपालका कार्यकारी निर्देशक तथा स्टक्चरल इन्जिनियर सूर्य नारायण श्रेष्ठले कतिपय अवस्थामा बाढी, पहिरो, आगलागीका प्रकोपलाई नै न्यूनीकरण गरेर विपद न्यूनीकरण गर्न सकिने हुँदा त्यसको पहल सबै पक्षबाट हुनुपर्ने बताए । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भूकम्पको प्रकोप घटाउन नसकिए तापनि त्यसबाट हुने जोखिम न्यूनीकरण गर्नको लागि उपयुक्त संरचना निर्माण गर्नुपर्ने हुन्छ ।

नेपाल सरकारबाट सन् २००४मै तय भएको भवन संहिताले सिमेन्ट रड प्रयोग गरेर ढलानका घरको लागि मात्र नभई गाउँघरमा पाइने ढुंगा, काठका घरलाई पनि कसरी बलियो बनाउन सकिन्छ भनेर डिजाइन तथा निर्माण गर्ने तरीकाको पनि निक्र्योल गरिएको छ । भूकम्प प्रतिरोधि बलियो संरचनाका लागि प्रविधि अति आवश्यक छ ।

श्रेष्ठकाअनुसार संस्थाले प्रविधिको कुरा बुझाउन सेट टेबल प्रविधिमा सानो घर राखेर प्रविधिले कसरी काम गर्ने रहेछ भनेर बुझाउने गरेको छ । यस्तै, विपद बारे बुझाई अभिवृद्धि गर्न सेण्डाई फ्रेमवर्कमा भएको ‘जोखिमलाई नै बुझ्न र बुझाउन पर्छ, जोखिम कहाँ कहाँ छ, जोखिम आंकलनलाई सरल भाषामा आम समुदायलाई फैलाउन पर्छ’ भन्ने कुरालाई गर्दै आएको छ ।

जनचेतना फैलाउने मामिलामा पनि प्रविधिको व्यापक प्रयोग हुने गर्दछ । यस्तै पहिरोको जोखिम बुझाउनको लागि थ्रीडि नक्साको प्रयोग तथा पहिरो मापन यन्त्र देशका विभिन्न दश ठाउँमा प्रयोग गर्दै आएको छ । यो यन्त्रले जमिन कति हल्लियो, पानी कति प¥यो, माटोमा पानीको मात्रा, जमिन चिरा पर्दा कसरी भएर पहिरोमा परिणत भयो भन्ने मापन गर्ने काम उक्त यन्त्रले गर्ने गर्दछ । साथै उक्त पहिरो भन्दा मुनि बस्ने बासिन्दालाई सूचित गर्ने अर्लि वार्निङ सिस्टमको काम गर्दछ ।

भूकम्पका प्राइमरी वेभ र सेकेण्डरी वेभलाई अध्ययन गरेर भूकम्पको केन्द्रविन्दुभन्दा अलि टाढाको वस्तिलाई सूचना दिएर जोगाउन सकिन्छ । यो पूर्व सूचना दिने पद्दती विश्वव्यापि रुपमा प्रचलित भईसकेको छ । श्रेष्ठकाअनुसार यो प्रविधिको सदुपयोग हामीले पनि केही सेकेण्डको सहयोगमा लाखौं जनताको सुरक्षा गर्न सकिन्छ । एनसेटले यसको प्रयोग देशका पश्चिमी भेगका विभिन्न ४० ठाउँमा सेन्सर राखेर काम गर्दै आएको कार्यकारी निर्देशक श्रेष्ठले कार्यक्रममा जानकारी गराए ।

विपद जोखिम न्यूनीकरण प्राधिकरणको स्वीकृतिमा गरिंदै आएको उल्लेखित परिक्षण सफल भएको खण्डमा सरकारलाई हस्तान्तरण गरेर प्रयोग गर्ने योजना एनसेटको रहेको छ । यस्तै जान नसकिने ठाउँमा ड्रोनको प्रयोगबाट फोटो, भिडियो प्रयोग गरेर पनि अध्ययन अनुसन्धान, सचेतनाको काम गर्न सकिने श्रेष्ठको कथन थियो ।

यस्तै, अकस्टिक सेन्सर भनेर जमिनको चालको आवाजले कत्तिको चर्किएको छ भनेर थाहा पाउने तथा पहिरोलाई मापन गर्ने पनि गरिंदै आएको छ । भूकम्पजन्य पहिरोको अध्ययनको सिलसिलामा एनसेटले उल्लेखित प्रविधिसँग रहेर काम गर्दै आएको छ ।

यस्तै, वातारणविद तथा वन तथा भू संरक्षण विभागका पूर्व महानिर्देशक विजयराज पौडेलका अनुसार सडक बनाउँदा कटिङ राम्रोसँग नगरिंदा, सुरक्षित रुपमा नगरिंदा, पानीको ढलो नबनाउँदा देशका राजमार्गहरूमा पहिरोको समस्या बढ्दोरुपमा देखिएको हो । पौडेलका अनुसार जलविद्युत परियोजना बनाउने क्रममा माथिको वातावरणलाई वास्ता नगरिंदा, अपस्ट्रिम डाउन स्ट्रिमको समन्वय नगरी परियोजना निर्माण गर्दा धेरै विपद निम्तिएको हो ।

यस्तै, ल्याण्ड स्केप म्यानेजमेन्ट नमिल्दा काठमाडौंमा पनि पानी पर्ने वित्तिकै भाग्नु पर्ने अवस्था आएको उल्लेख गर्दै खानेपानी, ढल, सडक, विद्युतजस्ता सरकारी निकायकै संयोजनकारी भूमिका नहुँदा समस्या निम्तिएको पौडेलको तर्क छ ।

कार्यक्रममा सिमेक्स तथा माइक्रो लर्निङ संस्थाका विपद व्यवस्थापन प्राविधिक विशेषज्ञ डा. श्रीजन बहादुर मल्लका अनुसार सुरक्षा निकायले निजामती सेवाकै नेतृत्वमा विपद व्यवस्थापनको काम गर्नु पर्ने तर निजामती क्षेत्रका पदाधिकारीमा जोखिम न्यूनीकरणसम्बन्धी तालिमको अभाव रहेको छ । साथै, सुरक्षा निकायहरूमा पनि कुन सुरक्षा निकायले कुन काम गर्ने, कसले के गर्ने भन्ने निर्दिष्ट भूमिका छैन भने दस्तावेजिकरण पनि नभएकोले समस्या हुने गरेको छ ।

पूर्व सैनिक अधिकृतसमेत रहेका मल्लले विपद जोखिम कृतिम घटना अभ्यास तालिम संचालन गर्दै आएको तर तालिमको पनि अभाव रहेको उल्लेख गर्दै पूर्व सूचना प्रणाली, जनचेतनाजस्ता कुराले विपदमा हुने मृत्युदर घटाउन सहयोग गरेको बताए । यस्तै, विपदमा तथ्यांक संकलन पक्ष गाह्रो हुने, विपदसम्बन्धी फोकल पर्सन सबै मन्त्रालयमा भए पनि बजेटको व्यवस्था नगर्दा प्रभावकारी हुन नसकेको मल्लको अनुभव छ ।

कार्यक्रममा गोरखापत्रका फोटो पत्रकार कविता थापाले विपदको अवस्थामा क्यामेरा, व्याट्री, चार्जरजस्ता सामग्रीको व्यवस्थापन चुनौतिपूर्ण रहेको अनुभव सुनाइन् भने संस्थाका अध्यक्ष अमिका राजथलाले विपद पत्रकारितामा लागेका पत्रकारहरूको लागि क्षमता दक्षता अभिवृद्धि अहिलेको चुनौति रहेको बताइन् । कार्यक्रम संस्थाका सचिव श्रीजन झाले संचालन गरेका थिए । कार्यक्रममा पत्रकार तथा वातावरण, विपदका क्षेत्रमा काम गर्ने विशेषज्ञहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: July 26, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN
  • Orientation program organized to Media Personnel
  • DJN organized an interaction Program on ‘Role of Journalism on Disaster Risk Reduction Mainstreaming and Localization ‘ on October 3, 2023
  • DJN AGM Program

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2025 | Built using WordPress and Responsive Blogily theme by Superb